हमाल हटेपछि प्रिमियममा आईपीओ निष्कासन ठप्प, १२ कम्पनी अनुमति पर्खिरहेका
- BFIS News
- 2025 Jul Sun 12:49

काठमाडौं, साउन ४। नेपाल धितोपत्र बोर्ड (सेबोन) का पूर्वअध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि प्रिमियम मूल्यमा प्राथमिक शेयर (IPO) निष्कासनको प्रक्रिया ठप्प भएको छ।
हाल सेबोनमा १२ वटा कम्पनीले प्रिमियममा आईपीओ निष्कासनका लागि अनुमति मागेका छन्, तर नयाँ अध्यक्ष सन्तोषनारायण श्रेष्ठको कार्यकालमा अहिलेसम्म कुनै पनि कम्पनीले प्रिमियममा आईपीओ ल्याउने स्वीकृति पाएका छैनन्।
हमालको कार्यकालमा पहिलोपटक सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन स्वीकृति पाएको थियो। त्यसपछि रिलायन्स स्पिनिङ मिल्सले पनि सोही विधिबाट अनुमति पायो। तर, डेढ वर्ष बितिसक्दा पनि रिलायन्सको आईपीओ सर्वसाधारणका लागि निष्कासन हुन सकेको छैन।
हमालकै पालामा धेरै उत्पादनमूलक र सेवामूलक कम्पनीहरूले प्रिमियम मूल्यमा शेयर निष्कासन गर्न सेबोनमा आवेदन दिएका थिए। अहिले सेबोनको पाइपलाइनमा ७३ वटा कम्पनी छन्, जसले करिब ५३ अर्ब ८४ करोड रुपैयाँ संकलन गर्ने गरी ३७ करोड १४ लाख कित्ता शेयर निष्कासनका लागि आवेदन दिएका छन्। तीमध्ये १२ कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न चाहेका हुन्।
अध्यक्ष श्रेष्ठ आएपछि अंकित मूल्यमै सीमित
सन्तोषनारायण श्रेष्ठ अध्यक्ष बनेको ७ महिनाभन्दा बढी भइसकेको छ। उनले हालसम्म हिमालयन बैंकको एफपीओ बाहेक कुनै पनि प्रिमियम मूल्यका आईपीओलाई स्वीकृति दिएका छैनन्। उनको कार्यकालमा स्वीकृति पाएका १५ मध्ये १४ कम्पनीले अंकित मूल्य (१०० रुपैयाँ) मा मात्रै आईपीओ ल्याएका छन्।
संसदको सार्वजनिक लेखा समितिले प्रिमियम आईपीओ रोक्न र नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओ अनुमति नदिन दिएको निर्देशन सेबोनले अक्षरशः पालना गर्दै आएको छ। अध्यक्ष श्रेष्ठले त झन् यस्ता कम्पनीहरूलाई पाइपलाइनकै सूचीबाट हटाएका छन्।
यद्यपि, अर्थ समितिमा केही दिनअघि श्रेष्ठले वास्तविक क्षेत्रका कम्पनीहरूलाई पूँजी बजारमा आकर्षित गर्न प्रिमियम मूल्य आवश्यक भएको बताएका थिए। तर लेखा समितिको निर्देशनका कारण सबै आवेदन होल्डमा रहेको जानकारी दिए।
यी १२ कम्पनीले मागे प्रिमियममा आईपीओ अनुमति
हाइड्रोपावर समूह:
-
सेन्चुरी इनर्जी लिमिटेड – प्रति शेयर रु २७५.११, ३ लाख कित्ता
-
नुम्बुर हिमालय हाइड्रोपावर – प्रति शेयर रु २१८, ३० लाख ६ हजार २०२ कित्ता
लगानी समूह:
3. शिवम होल्डिङ्स लिमिटेड – प्रति शेयर रु २१०, १ करोड १६ लाख कित्ता
उत्पादन तथा प्रशोधन समूह:
4. जगदम्बा स्टिल्स लिमिटेड – रु ३००, २ करोड ७० कित्ता
5. सौर्य सिमेन्ट इन्डष्ट्रिज – रु २६४.५१, १ करोड ५९ लाख ८१ हजार ५०० कित्ता
6. मारुती सिमेन्ट लिमिटेड – रु ३७७, १ करोड १६ लाख कित्ता
7. रिद्धिसिद्धि सिमेन्ट – रु २१४.१०, १ करोड २१ लाख ७१ हजार ५०० कित्ता
8. अम्बे स्टिल्स – रु ३०३, १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता
9. हुलास इन्फ्रा लिमिटेड – रु ३३३.५६, ३५ लाख ४७ हजार १८८ कित्ता
अन्य समूह:
10. हाम्स हस्पिटल (Hospital for Advanced Medicine and Surgery) – रु २८८, ११ लाख २५ हजार कित्ता
11. कैलाश हेलिकोप्टर सर्भिसेज लिमिटेड – रु ३२७, ३ लाख ५० हजार कित्ता
12. छायाँदेवी कम्प्लेक्स लिमिटेड – रु ४००, १४ लाख ३७ हजार ५०० कित्ता
पूर्व अध्यक्ष हमालले प्रिमियममा आईपीओलाई खुला गर्दै कम्पनीहरूलाई बजारमा ल्याउने बाटो खोलेका थिए भने नयाँ नेतृत्वमा सो बाटो अहिले थुनिएको देखिएको छ। अब बुक बिल्डिङ र प्रिमियम आईपीओ पुनः सञ्चालनमा आउने हो वा होइन भन्नेबारे स्पष्टता अझै आउन बाँकी छ।
प्रतिक्रिया