United Ajod

राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ नेपालको ३६ औं वार्षिकोत्सव विविध कार्यक्रमका बीच सम्पन्न

Everest Bank
  • BFIS News
  • 2025 Jul Wed 12:01
राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ नेपालको ३६ औं वार्षिकोत्सव विविध कार्यक्रमका बीच सम्पन्न

काठमाडौं, साउन ७ —राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ नेपालको घटौं वार्षिकोत्सव मंगलबार एक भव्य समारोहबीच सम्पन्न भएको छ। पेशागत महासंघका अध्यक्ष पुण्य प्रसाद ढकालले मूल समारोहको उद्घाटन गर्दै श्रमिकको रोजगारी तथा सेवासुविधामा ध्यान दिँदा उत्पादकत्व वृद्धि हुने उल्लेख गरे। साथै, राष्ट्रिय बाणिज्य बैंकमा हाल चलिरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै महासंघले आवश्यक पहलकदमी लिने र तार्किक निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाए।

समारोह संघका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले सम्झौता भइसकेपनि कार्यान्वयन नभएका विषयहरु तत्काल सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम ल्याइने चेतावनी दिए।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सचिव तथा संघका पूर्व अध्यक्ष शिव कुमार अधिकारी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ (द्यक्षं) नेपालका अध्यक्ष धर्मराज मैनाली, बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष देव कुमार ढकाल, निमित्त प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रामहरी घिमिरे, रावा बैंकका कर्मचारी संघ अध्यक्ष ईश्वर बहादुर सिंह, रावा बैंकका नेपाल राष्ट्रिय कर्मचारी संगठन अध्यक्ष दिपेन्द्र कार्की लगायतले शुभकामना मन्तव्य दिएका थिए।

वार्षिकोत्सवमा संघको कर्‍णाली प्रादेशिक समितिलाई उत्कृष्ट कार्यसम्पादनका आधारमा ‘रनि शिल्ड’ प्रदान गरिएको थियो। त्यस्तै, “राष्ट्रिय बाणिज्य बैंकको सन्दर्भमा योगदानमा आधारित उपदानः कर्मचारीमा परेको प्रभाव र समाधानका उपायहरु” विषयक निबन्ध प्रतियोगितामा जानकी कुमारी न्यौपाने प्रथम, रमा पराजुली द्वितीय, र राकेश कुमार राय तृतीय भएका थिए। म्युजिकल चेयर प्रतियोगितामा रेनुका न्यौपाने प्रथम, एलिना गौतम द्वितीय र कोपिला ढकाल तृतीय भएका थिए। विजयीहरुलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।

संघका महासचिव रविन्द्रप्रसाद चौलागाईंको सञ्चालनमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद तिमिल्सिनाले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, प्रतिष्ठानस्तरका ट्रेड युनियन अध्यक्षहरु, उपकार्यकारी अधिकृत, विभागीय प्रमुख, शाखा प्रमुख, संघका पदाधिकारी तथा कर्मचारीको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहपूर्व अध्यक्ष पाण्डेय र वरिष्ठ उपाध्यक्ष तिमिल्सिनाले केन्द्रीय कार्यालय परिसरमा संघको झण्डोत्तोलन गरेका थिए।

यसअघि संघको आयोजनामा श्रावण २ गते रक्तदान कार्यक्रम सम्पन्न भएको थियो, जसमा बैंकका ३६ जना कर्मचारीले रक्तदान गरेका थिए। स्वास्थ्य शिविरमा ४२ जनाले सहभागिता जनाएका थिए।

वार्षिकोत्सव केन्द्रीय कार्यक्रमसँगै विभिन्न प्रदेश समितिहरूद्वारा पनि उत्साहपूर्वक मनाइएको थियो। कोशी प्रदेश समितिले जनमत सरस्वती आधारभूत विद्यालयका ५० जना विपन्न विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको थियो। मधेश प्रदेश समितिले वीरगञ्जस्थित मानव सेवा आश्रममा भोजन कार्यक्रम र अन्तरक्रिया आयोजना गर्‍यो। बागमती र केपी विशेष प्रदेश समितिले केन्द्रिय कार्यक्रममा सहभागिता जनाउँदै लत्ताकपडा संकलन गरी विवेक स्वच्छ सेवा केन्द्रमा वितरण गरेका थिए। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश समितिहरुले पनि वृद्धाश्रम तथा बालगृहमा खाद्यान्न, फलफूल वितरणसँगै शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका थिए।

संघले वार्षिकोत्सवलाई भव्यताका साथ सफल बनाउन योगदान पु‍र्‍याएका सबै कार्यकारिणी समिति सदस्य, केन्द्रीय तथा प्रदेश समितिका पदाधिकारी, लेखा समिति संयोजक एवं सदस्य, संघका सदस्य तथा कर्मचारी मित्रहरूलाई हार्दिक धन्यवाद दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया