Nepal Life

मेयर बालेनले एक वर्षमा २५ प्रतिशतले बढाए महानगरको राजस्व

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Thu 06:37
मेयर बालेनले एक वर्षमा २५ प्रतिशतले बढाए महानगरको राजस्व
Sanima Reliance

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को सुरुवाती दुई महिनामा गत आर्थिक वर्षको तुलनामा २५ प्रतिशत धेरै राजस्व संकलन गरेको छ । महानगरपालिकाको राजस्व विभागकाअनुसार आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालु आर्थिक वर्षको साउन र भदौ महिनामा २५.३९ प्रतिशतले धेरै राजस्व संकलन भएको हो ।

NIMB

काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० को सुरुवाती दुई महिनामा ९३ करोड ४१ लाख ३८ हजार ६६६ रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा भने गत आर्थिक वर्षको तुलनामा २३ करोड ७२ लाख धेरै राजस्व संकलन भएको छ ।

चालु आवको साउन र भदौ महिनामा महानगरपालिकाले १ अर्ब १७ करोड १३ लाख ७५ अहजार ९३७ रुपैयाँ राजस्व संकलन गरेको हो । महानगरले विभिन्न शिर्षक अन्तर्गत यो रकम राजस्वका रुपमा संकलन गरेको हो ।

कुन शीर्षकमा कति राजस्व ?

काठमाडौं महानगरपालिकाको राजस्व विभागका अनुसार चालु आवको पहिलो दुई महिनामा सबैभन्दा धेरै राजस्व सम्पत्ति करमार्फत संकलन भएको छ । उक्त शीर्षकमा महानगरले ५२ करोड ३५ लाख १६ हजार रुपैयाँ संकलन गरेको छ ।

त्यस्तै, महानगरपालिकाले सम्पत्ति करका रुपमा २५ करोड ३१ लाख २५ हजार रुपैयाँ संकलन गरेको छ । भूमिकर तथा मालपोत शिर्षकमा ३९ लाख ७४ हजार रुपैयाँ संकलन भएको छ ।

राजस्व विभागकाअनुसार बाँडफाँडबाट प्राप्त हुने मनोरञ्जन करका रुपमा १० लाख ९० हजार संकलन भएको छ । त्यस्तै, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन करमा १० लाख १६ हजार, अन्य व्यक्तिगत आन्तरिक अनुदानमा १६ लाख ५४ हजार, पर्यटन शूल्कका रुपमा १ करोड ५५ लाख ५९ हजार, अन्य बिक्रीबाट प्राप्त रकममा १८ लाख ३१ हजार, अन्य सेवा शुल्कमा ५ करोड ९२ लाख ८७ हजार रुपैयाँ महानगरले संकलन गरेको छ ।

त्यस्तै, न्यायिक दस्तुरका रुपमा ६४ हजार रुपैयाँ संकलन भएको छ । शिक्षा क्षेत्रमार्फत आम्दानीका रुपमा १ लाख ७ हजार रुपैयाँ प्राप्त भएको विभागले जनाएको छ । त्यस्तै, अन्य प्रशासनिक सेवा शूल्कका रुपमा ४७ लाख २३ हजार रुपैयाँ प्राप्त भएको छ । नक्सापास दस्ूतरमा भने १४ करोड ३६ लाख रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।

त्यस्तै, सिफारिस दस्तुरका रुपमा १ करोड ३२ लाख ९६ हजार संकलन भएको छ । व्यक्तिगत घटना दर्ता दस्तुरका रुपमा १ लाख ९६ हजार, नाता प्रमाणित दस्तुरका रुपमा १० लाख १७ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरका रुपमा १३ करोड ७७ लाख ५९ हजार, प्रशासनिक दण्ड, जरिवाना र जफतका रुपमा ३८ लाख ८५ हजार रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।
धरौटी सदरस्याहाका रुपमा २ हजार र बेरुजु शिर्षकमा ४० लाख ५० हजार रुपैयाँ संकलन भएको महानगरको राजस्व विभागले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया