एनएफआरएस ९ अन्तर्गत क्रेडिट रिष्क सम्बन्धी नयाँ मार्गदर्शन जारी, जोखिम मूल्याङ्कनमा सुधार ल्याउने उद्देश्य

  • BFIS News
  • 2025 Jul Sun 19:28
एनएफआरएस ९ अन्तर्गत क्रेडिट रिष्क सम्बन्धी नयाँ मार्गदर्शन जारी, जोखिम मूल्याङ्कनमा सुधार ल्याउने उद्देश्य

काठमाडौं, साउन ११ गते। बैंक तथा वित्तीय संस्थाहरुले अब क्रेडिट जोखिम मूल्याङ्कन गर्दा अपेक्षित क्रेडिट क्षति (Expected Credit Loss – ECL) को गणनामा नयाँ मापदण्ड र प्रक्रिया अपनाउनु पर्ने भएको छ। नेपाल वित्तीय रिपोर्टिङ्ग मानक (NFRS) ९ अन्तर्गत “NFRS 9- Expected Credit Loss Related Guidelines, 2024” जारी गर्दै नियामक निकायले जोखिम वृद्धिका सूचक, क्षति दर गणना, र धितोको मूल्यांकनका लागि स्पष्ट दिशानिर्देश सार्वजनिक गरेको हो।

मार्गनिर्देशन अनुसार, कुनै पनि कर्जा एक महिनाभन्दा बढी समयसम्म बक्यौता भएमा त्यसलाई ‘जोखिममा उल्लेखनीय वृद्धि’ भएको संकेतकको रूपमा लिनुपर्नेछ।

Loss Given Default (LGD) गणनाको प्राथमिकता यस प्रकार:

१. ऐतिहासिक रिकभरी दर: कर्जा डिफल्टपछि विगतमा प्राप्त वास्तविक रिकभरी दरलाई पहिलो प्राथमिकता दिनुपर्नेछ।

२. धितोको मूल्यांकन (प्रुडेन्सियल फ्लोर): यदि ऐतिहासिक तथ्यांक उपलब्ध नभएमा, मार्गनिर्देशनमा उल्लेख भए अनुसार धितोको शुद्ध वास्तविक मूल्य (Net Realizable Value) प्रयोग गर्न सकिनेछ, जसमा बिक्रिसम्म लाग्ने समय र लागतसमेत समावेश हुनेछ।

३. ५ वर्षसम्म रिकभरी नभएका धितोहरू: कर्जा डिफल्ट भएको ५ वर्षसम्म धितो वा सम्पत्ति मार्फत पुनः प्राप्त गर्न नसकिएको अवस्थामा सो मूल्यलाई क्षति वा रिकभरी दर निर्धारणको आधार बनाउन पाइने छैन।

यदि बीएफआईहरूले उपयुक्त डेटा वा इनपुटको अभावमा LGD गणना गर्न सक्दैनन् भने, त्यसका लागि सञ्चालक समितिबाट स्वीकृति लिनुपर्नेछ। यस्ता अवस्थामा न्यूनतम ४५ प्रतिशतको LGD प्रयोग अनिवार्य गरिएको छ।

धितो मूल्यांकन सम्बन्धी प्रावधान:

अन्य सम्पत्तिहरू वा धितोहरूको शुद्ध वास्तविक मूल्य (Net Realizable Value) हालको निष्पक्ष मूल्यबाट २५% कटौती गरी निर्धारण गरिनेछ।

मूल्यांकनको विश्वसनीयता सुनिश्चित गर्न बीएफआईहरूले मूल्यांकन इतिहास (धितो NPL वा Stage 3 मा पुग्नुभन्दा अघिको अन्तिम मूल्यांकन) र बिक्रि इतिहास (नेट बिक्री मूल्य) बीच नियमित रूपमा ब्याक–टेस्टिंग गर्नुपर्नेछ।

यस मार्गनिर्देशनले बीएफआईहरूलाई अपेक्षित क्रेडिट क्षति गणनाको प्रक्रिया पारदर्शी, तथ्यमा आधारित र नियामकीय दिशानिर्देशनअनुरूप बनाउने लक्ष्य लिएको छ। यसले संस्थागत जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने राष्ट्र बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया