नेप्से परिसूचक गणनाबारे स्टक एक्सचेन्जको अध्ययन सुरु, यस्तो छ अहिलेको गणना विधि
- BFIS News
- 2025 Jul Mon 17:05

काठमाडौं, साउन १२ गते। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारको परिसूचक (इन्डेक्स) गणनासम्बन्धी विषयमा औपचारिक अध्ययन सुरु गरेको छ। नेप्सेको परिसूचक गणनामा त्रुटि रहेको भन्ने सरोकारवालाहरूको गुनासोपछि एक्सचेन्जले अध्ययन प्रक्रिया अघि बढाएको हो।
सेयर बजारसँग सम्बन्धित विभिन्न विज्ञ, लगानीकर्ता र विश्लेषकहरूले नेप्से परिसूचक गणनाको विधि उपयुक्त नभएको भन्दै लामो समयदेखि आलोचना गर्दै आएका थिए। उनीहरूले गलत विधिबाट गणना हुँदा बजारमा भ्रामक सन्देश प्रवाह हुँदै आएको र लगानीकर्ताको निर्णयमा असर पार्ने तर्क राख्दै आएका छन्।
हाल नेपालको सेयर बजारको बजार पूँजीकरण करिब ४९ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ, जुन मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) बराबर वा नजिकै रहेको छ। यसले बजार अत्यधिक पूँजीकरण (ओभर क्यापिटलाइज) भएको संकेत दिएको विश्लेषकहरूको भनाइ छ।
गत वर्ष पनि नेप्से गणना विधिबारे बहस चर्किएको थियो। यसै विषयमा आएको गुनासोका आधारमा अहिले अध्ययन भइरहेको नेपाल स्टक एक्सचेन्जले स्पष्ट पारेको छ।
नेप्से परिसूचकले समग्र बजारको चाल देखाउने एक महत्त्वपूर्ण संकेतकको काम गर्छ। बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेमा परिसूचक पनि घट्ने र मूल्य बढेमा परिसूचक बढ्ने सामान्य सिद्धान्तमा आधारित यो इन्डेक्स २०५० सालदेखि प्रकाशनमा ल्याउन थालिएको हो।
नेप्सेले अपनाएको परिसूचक विधिलाई *भ्यालु वेटेड इन्डेक्स* भनिन्छ। यसमा आधार वर्ष (२०५० साल माघ ३०) मा सूचीकृत सम्पूर्ण कम्पनीहरूको सेयर संख्यालाई बजार मूल्यले गुणा गरेर मूल्य निर्धारण गरिएको हो। यसरी, ठूलो बजार पूँजीकरण भएका कम्पनीहरूको मूल्य घटबढले परिसूचकमा ठूलो असर पार्छ भने साना कम्पनीहरूको प्रभाव कम हुन्छ।
नेप्से परिसूचक २०७८ साल भदौ २ गतेको दिन ३२०० बिन्दु पुगेर अहिलेसम्मकै उच्च विन्दु छोएको थियो। नेप्से इन्डेक्स परिवारमा मुख्य परिसूचकका साथै सेन्सेटिभ, फ्लोट, सेन्सेटिभ फ्लोट लगायतका उप-परिसूचकहरू पनि समावेश छन्। यी सूचकहरू बजारको दिशा र उतारचढावलाई फरक–फरक कोणबाट मूल्याङ्कन गर्न बनाइएका हुन्। नेपाल स्टक एक्सचेन्जले बजार सुधार र पारदर्शिताका लागि परिसूचक गणनाको पद्धतिमा आवश्यक परे परिमार्जन गर्न सक्ने संकेत पनि दिएको छ।
ठूलो पुँजीकरण भएका कम्पनीहरुको सेयर मूल्यमा भएको उतारचढावको प्रभाव नेप्से परिसूचकमा धेरै हुन्छ भने साना कम्पनीको कम हुन्छ । नेप्से परिसूचक २०७८ भदौ २ गतेको दिनमा ३२०० को विन्दुसम्म पुगेको थियो । यो नै नेप्सेले छोएको हालसम्मकै उच्च विन्दु हो ।
सेन्सेटिभ, फ्लोट, सेन्सेटिभ फ्लोट लगायतका अरु पनि परिसूचक नेप्से इन्डेक्स परिवारमा छन् । बजारको उतारचढावलाई विभिन्न कोणबाट मापन गर्ने उद्देश्यले यस्ता परिसूचकहरु बनाइएका हुन्छन् ।
सेन्सेटिभ इन्डेक्सः बजारमा भएका सबै कम्पनीको सट्टा तुलनात्मक रुपमा वित्तीय हिसाबले बलियो, पारदर्शी, संस्थागत सुशासन भएका कम्पनीलाई मात्रै समेटेर परिसूचक बनाउने क्रममा नेप्सेले सेन्सेटिभ इन्डेक्स ल्याएको हो । यसका लागि कम्पनी छनौट गर्दा चुक्ता पुँजी कम्तिमा २ करोड भएको, सेयरधनी संख्या कम्तिमा एक हजार जना रहेको, कम्तिमा तीन वर्षदेखि लगातार नाफामा रहेको, सेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आय व्यय विवरण पेश गरेको भन्ने मापदण्ड नेप्सेले तय गरेको थियो ।
त्यसरी छनौट गरिएका कम्पनीहरुको सेयरको आधार वर्ष मूल्य र वर्तमान बजार मूल्यका आधारमा सेन्सेटिभ इन्डेक्स गणना गरिन्छ । नेप्सेले २०६३ पुस १७ गतेदेखि सेन्सेटिभ इन्डेक्स गणना गर्न थालेको हो ।
फ्लोट इन्डेक्सः बजारमा तत्काल किनबेच गर्न सकिने सेयरलाई मात्रै समेटेर इन्डेक्स गणना गर्नुपर्छ भन्ने तर्कका आधारमा फ्लोट इन्डेक्स गणना गरिएको हो । त्यसैले सर्वसाधारणमा जारी भएका कारोबारयोग्य सेयरको आधार मूल्य र वर्तमान बजार मूल्यलाई लिएर फ्लोट इन्डेक्स गणना गरिन्छ ।
नेप्सेले यो परिसूचक गणना २०६५ भदौ ३० गतेदेखि थालेको हो । यसमा सूचीकृत सेयरमध्ये करिब एक तिहाई समावेश हुन्छन् । यस किसिमको परिसूचकलाई यथार्थपरक मानिन्छ । तापनि नेपालमा यो परिसूचक लोकपि्रय हुन सकेको छैन ।
सेन्सेटिभ फ्लोट इन्डेक्सः सेन्सेटिभ इन्डेक्स गणना गर्ने डालोमा भएका कम्पनीहरुले सर्वसाधारणमा जारी गरेका तत्कालै किनबेच गर्न सकिने कारोबारयोग्य सेयर मात्रैको आधार मूल्य र वर्तमान बजार मूल्यलाई लिएर गणना गरिएको परिसूचकलाई सेन्सेटिभ फ्लोट इन्डेक्स भनिन्छ । नेप्सेले २०६५ भदौ ३० गतेदेखि यो परिसूचक गणना सुरु गरेको थियो ।
इण्डेक्स गणना विधिः
कुनै पनि बजारको परिसूचक गणनाका लागि निश्चित स्थापित सूत्र प्रयोग गरिन्छ । नेप्से परिसूचकका लागि सूत्र अबलम्बन गरिन्छ ।
नेप्से इण्डेक्स = (सूचिकृत कम्पनीको बजार पूँजीकरण / सूचीकृत कम्पनीहरुको आधार (Base Period) पूँजीकरण) x १००
उदाहरणका लागि–
सूचिकृत कम्पनीहरुको अहिलेकाे बजार पूँजीकरण रु. = ५०,००,०००
आधार पूँजीकरण रु. = १०,००,०००
गुणक = १०० हुँदा
नेप्से इण्डेक्स = (५०,००,०००÷१०,००,०००) x १०० = ५००
यस परिसूचकमा बेलाबेलामा हुने विभिन्न संस्थागत घटनाहरुलाई समायोजन गरिएकाे हुन्छ । संस्थागत घटनाहरु भन्नाले कम्पनीले प्रदान गर्ने बाेनश शेयर, हकप्रद शेयर, मर्जर तथा प्राप्ति हुने घटनाहरु हुन्छन् । ती सबै घटनाहरुलाई समायाेजन गर्नुपर्ने हुन्छ ।
इण्डेक्समा संस्थागत घटनाहरुलाई समायोजन गर्ने विधिः
यसका लागि सबैभन्दा पहिले समायोजित आधार पूँजीकरण निकाल्ने गरिन्छ र समायोजित आधार पूँजीकरण निकाल्नका लागि निम्नानुसारको सूत्र प्रयोग गरिन्छ । समायाेजित आधार पूँजीकरण भनेकाे २०५० माघ ३० गतेकाे आधार पूँजीकरणमा त्यसपश्चात संस्थागत घटनाहरुलाई समायाेजन गरी कायम गर्दै आएकाे नयाँ आधार पूँजीकरण हाे ।
नयाँ समायोजित आधार पूँजीकरण = (संस्थागत घटना भएपछि कम्पनीको कायम नयाँ बजार पूँजीकरण / कम्पनीको पुरानो बजार पूँजीकरण) x बजारकाे पुरानो आधार पूँजीकरण
अब सूचीकृत कम्पनीहरूकाे संस्थागत घटनाहरुकाे समायाेजन गरेर नयाँ समायाेजित आधार पूँजीकरण निकालेपछि त्यसकाे आधारमा नेप्से इण्डेक्स गणना गरिन्छ ।
नेप्से इण्डेक्स = (सूचिकृत कम्पनीको नयाँ कायम बजार पूँजीकरण /सूचीकृत कम्पनीहरुको नयाँ आधार (Base Period) पूँजीकरण) x १००
उदाहरणका लागि-
सूचिकृत कम्पनीहरुको बजार पूँजीकरण रु. ५०,००,०००
थप भएको नयाँ पूँजिकरण रु. १०,००,०००
आधार पूँजीकरण रु. १०,००,०००
नयाँ समायोजित आधार पूँजीकरण = (५०,००,०००+१०,००,०००)÷५०,००,०००)x१०,००,००० = रु. १२,००,०००
नयाँ समायोजित आधार पूँजीकरण अनुरुप नयाँ इण्डेक्स गणना गर्दा
(५०,००,०००+१०,००,०००)÷१२,००,०००)x१००= ५००
यसरी नेप्से परिसूचकमा विभिन्न संस्थागत घटनाहरु समायोजन गरेर व्यवस्थापन गर्दै आएको पाइन्छ ।
प्रतिक्रिया