Nepal Life

कर्णाली डेभलपमेन्ट बैंकमा ठूलो घोटाला : खातामा १४ लाख, लेजरमा देखाइयो १ अर्ब २६ करोड

NMB Bank
  • BFIS News
  • 2025 Jul 31 12:19
कर्णाली डेभलपमेन्ट बैंकमा ठूलो घोटाला : खातामा १४ लाख, लेजरमा देखाइयो १ अर्ब २६ करोड
National Life

काठमाडौं, साउन १५। कर्णाली डेभलपमेन्ट बैंकमा ठूलाे रकम हिनामिना भएको खुलासा भएको छ। बैंकको वास्तविक खातामा जम्मा १४ लाख २५ हजार रुपैयाँ मात्रै मौज्दात रहँदा लेजर विवरणमा भने १ अर्ब २६ करोड रुपैयाँ देखाइएको पाइएको छ।

Shikhar
NIMB

सरकारी वकिलको कार्यालय बाँकेले बुधबार जिल्ला अदालत बाँकेमा दायर गरेको अभियोगपत्र अनुसार, बैंकका तत्कालीन सञ्चालक, उच्च व्यवस्थापक तथा कर्मचारीहरू मिलेमतोमा रकम हिनामिना गरेको आरोप लागेको छ। यस प्रकरणमा १०९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

अभियोगपत्र अनुसार २०८१ पुस ११ गते बैंकको वास्तविक मौज्दात १४ लाख २५ हजार मात्रै भए पनि लेजरमा १ अर्ब २६ करोड रुपैयाँ देखाइएको थियो। नेपाल राष्ट्र बैंकलाई बुझाइने विवरणमा समेत नक्कली डेटा, नक्कली हस्ताक्षर र नक्कली लेटरप्याडमार्फत वित्तीय विवरण प्रस्तुत गरिएको थियो।

नेपाल राष्ट्र बैंकको निरीक्षण तथा लेखापरीक्षणको क्रममा विभिन्न खाताको विवरण मिलान गर्दा बैंकले अनिवार्य नगद अनुपात देखाउन नक्कली कागजात प्रयोग गरेको खुलेको छ। यसमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत समिर विक्रम शाहसहित धेरैजना संलग्न रहेको देखिएको छ।

१ अर्ब ३३ करोडभन्दा बढी हिनामिना भएको अनुमान

अभियोग अनुसार, तत्कालीन सीईओ निरज विक्रम शाहको खातामा रहेको ११ लाख ९० हजार र अन्य शाखाहरूबीचको मिलान नभएको रकम ५ करोड ३० लाखसहित कुल १ अर्ब ३३ करोड ३२ लाख रुपैयाँ हिनामिना भएको प्रारम्भिक अनुमान छ।

बैंकको वास्तविक मौज्दात र लेजरमा देखाइएको रकममा १ अर्ब २८ करोड रुपैयाँको फरक भेटिएको छ। उक्त रकम बैंकका पदाधिकारी तथा कर्मचारीहरू मिलेर व्यक्तिगत प्रयोजनका लागि चेक काटेर नगद रूपमा निकालिएको तर संस्थाको प्रणालीमा दर्ता नगरिएको अनुसन्धानमा उल्लेख छ।

१०९ जनाविरुद्ध मुद्दा, १०३ जना फरार

बाँके जिल्ला अदालतमा दायर मुद्दामा तत्कालीन प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावत, निरज विक्रम शाह, विष्णुप्रसाद कक्षपति, नेपालगञ्ज शाखा प्रबन्धक दीपा थापा लगायत प्रमुख संलग्नता देखिएका छन्।

मुद्दामा ४ जना प्रतिवादी पक्राउ परिसकेका छन् भने २ जनाको मृत्यु भइसकेको छ। बाँकी १०३ जना फरार छन्।

प्रतिवादीहरूमा सञ्चालक समिति अध्यक्षदेखि लेखापाल, शाखा प्रमुख, क्याशियर, सहायक कर्मचारी, केही अन्य बैंकका कर्मचारी र बाह्य व्यक्ति समेत रहेका छन्। उनीहरूको विस्तृत नामावली सरकारी अभियोजनपत्रमा उल्लेख गरिएको छ।

राष्ट्र बैंकले लियो बैंकको नियन्त्रण

बैंकमा देखिएको अनियमितता र गम्भीर आर्थिक हिनामिना प्रकरणपछि नेपाल राष्ट्र बैंकले २०८१ पुस १० गतेदेखि कर्णाली डेभलपमेन्ट बैंकको सम्पूर्ण व्यवस्थापन प्रत्यक्ष नियन्त्रणमा लिएको हो।

बैंकिङ प्रणालीमा गम्भीर चुनौती पेश गर्ने यो घटनालाई राष्ट्र बैंकले अत्यन्त संवेदनशील मान्दै विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ। यस प्रकरणले नेपालको वित्तीय अनुशासन र नियामक प्रणालीमा गम्भीर प्रश्न उठाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया