जलवायु परिवर्तनको जोखिम व्यवस्थापनमा बैंकहरूलाई सचेत अन्तर्राष्ट्रिय समुदाय

  • BFIS News
  • 2025 Aug Sat 08:32
जलवायु परिवर्तनको जोखिम व्यवस्थापनमा बैंकहरूलाई सचेत अन्तर्राष्ट्रिय समुदाय

काठमाडौं, १७ साउन। नेपाल बैंकर्स संघ (एनबीए) ले Invest for Impact Nepal को सहकार्यमा “बैंकिङ क्षेत्रमा जलवायु जोखिम” विषयक Community of Practice (CoP) अन्तर्गतको भर्चुअल सत्र सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त सत्रमा सदस्य बैंकका दिगोपन सम्बन्धित विज्ञहरूले सहभागिता जनाउँदै जलवायु जोखिमलाई बैंकिङ प्रणालीमा कसरी समावेश गर्ने भन्ने विषयमा अन्तरक्रियात्मक छलफल गरेका थिए।

कार्यक्रमको उद्घाटन मन्तव्य नेपाल बैंकर्स संघको सस्टेनेबल फाइनान्स युनिटका प्रमुख कपिल गौतमले दिएका थिए। उनले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यो सत्र एनबीएको CoP पहल अन्तर्गत भइरहेको निरन्तर अभ्यासको हिस्सा रहेको बताए। यस पहलको मुख्य उद्देश्य बैंकिङ क्षेत्रमा दिगो वित्तको अभ्यासमा संलग्न पेशेवरबीच आपसी सिकाइ, संस्थागत क्षमताको अभिवृद्धि र ज्ञान आदानप्रदानलाई प्रोत्साहन गर्नु हो।

सत्रमा दुई वटा प्राविधिक प्रस्तुतीहरू समावेश गरिएको थियो। पहिलो प्रस्तुति ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट (BII) का वातावरण तथा सामाजिक विभागका प्रबन्धक नागसिम्हा स्वामीले दिएका थिए। उनले जलवायु जोखिमसम्बन्धी अन्तर्राष्ट्रिय अनुभवहरू प्रस्तुत गर्दै नेपालको बैंकिङ क्षेत्रमा त्यसको सान्दर्भिकता र आवश्यकताबारे प्रकाश पारे। उनले जलवायु जोखिमलाई दुई भागमा भौतिक जोखिम र संक्रमणकालीन जोखिममा वर्गीकृत गर्दै नेपाली बैंकहरूले विश्वव्यापी अभ्यास अनुरूप चाँडो कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।

दोस्रो प्रस्तुति Environmental Management Centre Pvt. Ltd. (EMC) की मती कृपा देसाईले गरेका थिए। उनले जलवायु परिवर्तनको असर, जोखिम मूल्याङ्कनका विधिहरू र बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना लगानी तथा ऋण अभ्यासमा जलवायुसम्बन्धी जोखिम न्यूनीकरण गर्न अपनाउनु पर्ने रणनीतिहरू प्रस्तुत गरे।

कार्यक्रमको संयोजन EMC का प्रबन्ध निर्देशक डा. प्रसाद मोडकले गरेका थिए। उनले जलवायु संवेदनशील क्षेत्रमा लगानी बढ्दो क्रममा रहेकोले जोखिम पनि वृद्धि भइरहेको र यस अवस्थामा नियामक निकाय, वित्तीय संस्था तथा विकास साझेदारबीच सहकार्य आवश्यक रहेको कुरामा जोड दिए।

कार्यक्रमको अन्त्यमा सहभागीहरूसँग अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र पनि सञ्चालन गरिएको थियो। उक्त भर्चुअल सत्रमा ३० भन्दा बढी सदस्य बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यो सत्र एनबीएको सस्टेनेबल फाइनान्स युनिटद्वारा अगाडि सारिएको Community of Practice (CoP) पहल अन्तर्गत आयोजना गरिएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया