सर्वसाधारण र संस्थापक शेयरमा छुट्टा छुट्टै आइजिन कार्यान्वयनको माग गर्दै लगानीले भेटे अर्थमन्त्री
- BFIS News
- 2025 Aug Tue 05:27

काठमाडौं। नेपाल शेयर बजार लगानीकर्ता संघको एक प्रतिनिधिमण्डलले आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग अर्थ मन्त्रालयमा भेट गरी नेपालको पूँजीबजारको वर्तमान अवस्था, लगानीकर्ताको हकहित, बजारको विकास तथा सुधारका विविध पक्षमा विस्तृत छलफल गरेको छ।
संघका उपाध्यक्ष इन्जिनियर भगवान बहादुर राउतको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पूँजीबजारको दिगो विकास, विस्तार र लगानीकर्तामैत्री वातावरण निर्माणका लागि आवश्यक पहलहरू गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको थियो।
छलफलका क्रममा संघका महासचिव रविन कँडेलले लगानीकर्ताको हित सुनिश्चित गर्न बलियो पूर्वाधार विकास, गतिशील एवं सकारात्मक निर्णयहरूको कार्यान्वयन, र नीतिगत स्थिरताको आवश्यकता रहेको बताएका थिए। उनले पूँजीबजारलाई आधुनिक, पारदर्शी र विश्वसनीय बनाउन सुधारका कार्यहरूमा ढिलाइ गर्नु हुँदैन भन्ने धारणा राखे।
संघका कार्यसमिति सदस्य सुदर्शन गौतमले पूँजीबजारसँग सम्बन्धित विविध विषयमा आफ्नो धारणा प्रस्तुत गरे भने अन्य सदस्यहरू सचिव भुवन ढकाल, कोषाध्यक्ष मच्छिन्द्र बस्नेत, सदस्यहरू विवेक श्रेष्ठ, धनञ्जय पौडेल, मीना भट्ट लगायतले समेत बजारमा देखिएका समस्याहरू र तिनका सम्भावित समाधानका उपायहरूबारे विचार व्यक्त गरेका थिए।
संघद्वारा अर्थमन्त्रीसमक्ष पेश गरिएका प्रमुख सुझावहरू:
१. छुट्टाछुट्टै ISIN नम्बरको कार्यान्वयन: सीडीएससीद्वारा जारी निर्देशिकाअनुसार प्रोमोटर र साधारण शेयरका लागि अलग ISIN नम्बर तत्काल लागू गरिनुपर्ने।
२. नेप्सेमा तत्काल सुधार: प्रणालीगत तथा प्राविधिक समस्याहरूको अन्त्य गर्न नेपाल स्टक एक्सचेन्जको सुधार तत्काल सुरु गरिनुपर्ने।
३. नियामक निकायको संरचनात्मक सुधार: सेबोनलगायत पूँजीबजारका नियामक निकायहरूलाई एउटै छातामुनि ल्याई एकीकृत संरचनामा सुधार गर्नुपर्ने, जसले प्रभावकारी नियमनलाई सुनिश्चित गर्नेछ।
अर्थमन्त्रीको प्रतिक्रिया:
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघका प्रतिनिधिहरूद्वारा उठाइएका माग र सुझावहरूलाई ध्यानपूर्वक सुनेपछि पूँजीबजारको विकासमा सरकार गम्भीर रहेको प्रस्ट पारे।
"पूँजीबजार हाम्रो अर्थतन्त्रको एक महत्वपूर्ण आधार हो, यसलाई मजबुत बनाउन हामी पूर्ण प्रतिबद्ध छौं," मन्त्री पौडेलले बताए। उनले निकट भविष्यमा आवश्यक सुधारका पक्षहरू पहिचान गरी कार्यान्वयनमा जोड दिइने बताउँदै, संघसँग सहकार्यमा अघि बढ्न मन्त्रालय तयार रहेको उल्लेख गरे।
नेपाल शेयर बजार लगानीकर्ता संघले उक्त भेटघाटलाई अत्यन्तै सकारात्मक र फलदायी भएको प्रतिक्रिया दिएको छ। अर्थमन्त्रीबाट प्राप्त सकारात्मक प्रतिबद्धताले लगानीकर्ताहरूमा आशा र उत्साह थपिएको संघले जनाएको छ। आगामी दिनहरूमा अर्थ मन्त्रालय र संघबीचको सहकार्यले पूँजीबजारमा नयाँ गति ल्याउने विश्वास संघले व्यक्त गरेको छ।
भेटघाटमा संघका उपाध्यक्ष इन्जिनियर भगवान बहादुर राउत, महासचिव रविन कँडेल, सचिव भुवन ढकाल, कोषाध्यक्ष मच्छिन्द्र बस्नेत, कार्यसमिति सदस्यहरू विवेक श्रेष्ठ, धनञ्जय पौडेल, मीना भट्ट र सुदर्शन गौतमको सक्रिय सहभागिता रहेको थियो।
प्रतिक्रिया