सोलर र ब्याट्रीले विद्युत् माग पूरा गर्न सके हाइड्रोमा निर्भर हुन जरुरी छैन : कार्यकारी निर्देशक शाक्य

  • BFIS News
  • 2025 Aug Tue 14:56
सोलर र ब्याट्रीले विद्युत् माग पूरा गर्न सके हाइड्रोमा निर्भर हुन जरुरी छैन : कार्यकारी निर्देशक शाक्य

काठमाडौं, साउन २०।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलर र ब्याट्री प्रविधिले मुलुकको विद्युत् माग पूरा गर्नसक्ने स्थिति बनेमा महँगो लगानीमा जलविद्युत (हाइड्रो) निर्माण गर्नुपर्ने बाध्यता हट्ने स्पष्ट पारेका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै शाक्यले भने, “हामीलाई ऊर्जा स्रोत कहाँबाट आयो भन्ने होइन, हाम्रो डिमाण्ड सोलर र ब्याट्रीले पूरा हुन्छ भने हाइड्रोको पछि लाग्न जरुरी छैन। विशेषगरी दिउँसो र साँझको माग धान्न सक्नुपर्छ। राति खासै विद्युतको माग छैन। अहिले औद्योगिक क्षेत्रमा पनि खपत धेरै छैन।”

उनका अनुसार सोलर र ब्याट्री प्रविधिले बिहान र साँझको आवश्यकता धान्न सकेमा ठूला जलविद्युत आयोजनामा निर्भरता घटाउन सकिन्छ। विशेषगरी सिंचाइ हुने क्षेत्रमा चोरी रोक्न सोलर र पम्पमार्फत मिटर जडानको व्यवस्था गर्नुपर्ने धारणा उनले राखे। छिमेकी भारतमा त्यस्ता उपायले सकारात्मक परिणाम देखाएको उदाहरण पनि उनले प्रस्तुत गरे।

शाक्यले तराई तथा पहाडी क्षेत्रमा सिंचाइ प्रणालीमा सोलर प्रविधि जोड्नुपर्ने आवश्यकता औंल्याए।

पालिकाहरुको विद्युत् वक्यौता समस्या

शाक्यले देशभरका धेरै पालिकाहरूले सडक बत्तीको बिजुली प्रयोग गरे पनि वर्षौंसम्म वक्यौता नतिर्ने गम्भीर समस्या रहेको उल्लेख गरे। उनका अनुसार पालिकाहरूले बजेटमा विद्युत् शुल्कको व्यवस्था नगरेका कारण यस्तो समस्या देखिएको हो।

“अब पालिकाहरूले सोलर बत्ती जडान गरेर आफैं विद्युत् उत्पादन गर्नुपर्छ,” शाक्यले भने, “प्राधिकरणले त्यो बिजुली खरिद गर्छ।”

उनले सोलर प्रविधिलाई प्रवर्द्धन गर्न प्रसारण लाइन नजिकका क्षेत्रहरूमा सोलर जडान गर्ने र त्यसअन्तर्गत पर्ने जग्गाको सदुपयोग गर्ने योजनामा प्राधिकरण लागिरहेको जानकारी दिए। उनका अनुसार यस्तो योजनाको पाइलट परियोजना खिम्तिमा सुरु भइसकेको छ।

शाक्यको भनाइले आगामी दिनमा जलविद्युतमा मात्र निर्भर नगरी सोलर र ब्याट्री प्रविधिबाट ऊर्जा सुरक्षालाई प्रवर्द्धन गर्ने दिशामा प्राधिकरणको सोच प्रष्ट भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया