नेप्से सूचक सामान्य अंकले बढ्दा पनि कारोबार रकम घट्ने क्रम जारी

  • BFIS News
  • 2025 Aug Wed 15:27
नेप्से सूचक सामान्य अंकले बढ्दा पनि कारोबार रकम घट्ने क्रम जारी

काठमाडौं, साउन २१।  बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य रूपमा वृद्धि भएको छ। अघिल्लो दिन मंगलबार करिब ४१.७८ अंकले घटेको नेप्से बुधबार २.३५ अंकले बढेर २८३६.३५ विन्दुमा पुगेको हो।

फ्लोट इण्डेक्स ०.११ अंकले बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंकले घटेका छन्।

सूचक सामान्य रूपमा बढेपनि बजार कारोबार रकम भने घट्दो क्रममा देखिएको छ। मंगलबार ९ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार त्यो घटेर ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँमा सीमित भयो। कुल ३२० स्टकमा ९३ हजार १८५ पटकको कारोबारमार्फत २ करोड १६ लाख ५७ हजार कित्ता शेयर किनबेच भएको हो। यो लगातार आठौं दिन हो, जब कारोबार रकम घट्दो क्रममा देखिएको छ।

बुधबार तीन कम्पनीका सेयरहरू सकारात्मक सर्किट लेभलमा पुगेका छन्। विन नेपाल लघुवित्त, महुली लघुवित्त र ट्रेड टावरका सेयरले सर्किट लेभल छोएका हुन्। त्यस्तै, समाज लघुवित्त र स्वाभिमान लघुवित्तका सेयर मूल्य करिब ८ प्रतिशतले बढेका छन्। यद्यपि, शेयरमूल्य घटेका कम्पनीहरूको मूल्य घट्दो दर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो, जसको २९ करोड ४५ लाख रुपैयाँबराबरको सेयर कारोबार भयो। दोस्रो स्थानमा रहेको हिमालयन रि इन्स्योरेन्सको २८ करोडभन्दा बढी र तेस्रो स्थानमा रहेको शिवम् सिमेन्ट्सको २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

१३ उपसमूहमध्ये ५ उपसमूहका सूचकहरू बढेका छन् भने ८ उपसमूहमा गिरावट आएको छ। लघुवित्त उपसमूहको सूचक १.३४ प्रतिशतले वृद्धि भई सबैभन्दा धेरै बढ्ने उपसमूह बन्यो। बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको सूचक भने घटेको छ।

(उल्लेखित तथ्यांक नेप्सेले अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना गर्नु अघि सार्वजनिक गरेको विवरणमा आधारित छ। औसत मूल्य गणनापछि तथ्यांक परिवर्तन हुन सक्नेछ।)

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया