सानिमा बैंकले शेयरधनीलाई २० प्रतिशतसम्म लाभांश दिन सक्ने, खुद नाफा २ अर्ब ५७ करोड नाघ्यो
- BFIS News
- 2025 Aug Mon 12:45

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२५ प्रतिशतले बढेको छ ।
असार मसान्तसम्ममा बैंकले दुई अर्ब ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आर्जन भएको दुई अर्ब ३९ करोड ७४ लाख रुपैयाँभन्दा बढी हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सामान्य वृद्धि भए पनि इम्पेरमेन्ट चार्ज उच्च हुँदा नाफामा अपेक्षित वृद्धि हुन सकेन ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.८२ प्रतिशतले बढी हो । त्यस्तै, सञ्चालन मुनाफा पनि २.९७ प्रतिशतले बढेर तीन अर्ब ५७ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको एक अर्ब ४३ करोड ३३ लाख रुपैयाँबाट बढेर एक अर्ब ८८ करोड ९१ लाख रुपैयाँ पुगेको छ । यसकै प्रभावमा वितरणयोग्य मुनाफा दुई अर्ब ७८ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ ।
खराब कर्जाको अनुपात पनि अघिल्लो वर्षको तुलनामा १.५१ प्रतिशत बिन्दुले बढेर ३.०१ प्रतिशत पुगेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) १८ रुपैयाँ ९३ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ८३ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य-आम्दानी अनुपात (P/E Ratio) १९.८० गुणा छ ।
यस अवधिसम्ममा बैंकले दुई खर्ब २३ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब ७६ अर्ब ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पूँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ । साथै, रिटेन्ड अर्निङ दुई अर्ब ७८ करोड रुपैयाँ र जगेडा कोष ६ अर्ब ५६ करोड ७१ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
प्रतिक्रिया