NIMB Header 2
Nepal Life

शेयर बजार प्रति लचिलो बन्दै नियामक निकायहरू, सकारात्मक बनाउने प्रयासमा ब्रोकर तथा ठूला लगानीकर्ता

Citizen Life
  • BFIS News
  • 2025 Aug 25 18:24
शेयर बजार प्रति लचिलो बन्दै नियामक निकायहरू, सकारात्मक बनाउने प्रयासमा ब्रोकर तथा ठूला लगानीकर्ता
National Life

काठमाडौं। नेपाली शेयर बजारमा पछिल्लो समय नियामक निकायहरू लचिलो नीतिहरू ल्याउँदै सकारात्मक संकेत दिन थालेका छन्। यसले बजारमा उत्साह थपेको छ भने लगानीकर्ताको मनोबल पनि बढेको देखिन्छ। यसक्रममा सबैभन्दा अग्रसर देखिएका छन्, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल।

NIMB

गभर्नर पौडेलले सुरुवातदेखि नै शेयर बजारप्रति सकारात्मक दृष्टिकोण राख्दै आएका छन्। हालैका दिनमा उनले अघिल्लो कार्यकालका गभर्नर महाप्रसाद अधिकारीद्वारा अपनाइएको कडा नीतिहरूलाई क्रमशः खुकुलो बनाउँदै लचिलो नीतिको मार्ग अवलम्बन गरिरहेका छन्। अधिकारीकै पालामा थालिएको सुधारका प्रयासलाई उनले अझै अगाडि बढाएका छन्।

सरकार पनि शेयर बजारप्रति संवेदनशील देखिएको छ। अर्थमन्त्री विष्णु पौडेलका छोरा स्वयं ब्रोकर व्यवसायमा रहेकाले सरकारले शेयर बजारविरोधी कुनै नीति लिने सम्भावना न्यून रहेको छ। नेपालमा शेयर बजार र घरजग्गा कारोबारलाई आर्थिक गतिशीलताको प्रमुख सूचकको रूपमा लिइन्छ।

शेयर बजारमा ठूला लगानीकर्ताको मात्रै प्रभाव नरहँदा रिटेल लगानीकर्ताको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। प्राविधिक विश्लेषणमा आधारित समुहगत लगानी गर्नेहरूको उपस्थिति पनि मजबुत बनिरहेको छ। यद्यपि, कम्पनीहरूको ओभर सप्लाइका कारण बजारले आशा गरेअनुसार गति लिन सकेको छैन।

नेपाल धितोपत्र बोर्ड र नेप्सेले मार्जिन ट्रेडिङलाई सजिलो बनाउने प्रयास गरिरहेका छन्। यदि यिनले नेपाल राष्ट्र बैंकसँग समन्वय गर्दै नीतिगत निर्णमा अग्रसरता देखाएमा बजारले थप गति लिन सक्ने विश्लेषकहरू बताउँछन्।

आज सोमबार मात्रै बजारमा ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनी एक्लैको ७६ करोड रुपैयाँको कारोबार भयो। यसले ठूला ठूला समूहहरू कम्पनीमा केन्द्रित भएको प्रष्ट देखाउछ। जवकी यहि प्रकृतिका अन्य कम्पनीमा लगानीकर्ताको आकर्षण देखिदैन।

शेयर बजारलाई थप सबल बनाउन विश्लेषकहरू बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर खरिद-बिक्रीको अनुमति दिनुपर्ने सुझाव दिन्छन्। हाल बीमा कम्पनी, संस्थागत लगानीकर्ता तथा व्यक्तिगत लगानीकर्ता मात्र सकृय छन्। बैंकलाई समेत नियमित कारोबारको अनुमति दिइएमा बजारमा स्थायित्व आउने विश्वास गरिएको छ।

अर्को सकारात्मक कदमस्वरूप, आइतबार नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको लाभांश वितरण सम्बन्धी नीति खुकुलो बनाएको छ। विगत ५–७ वर्षदेखि लागू हुँदै आएको 'डिभिडेन्ड क्याप' हटाउँदै राष्ट्र बैंकले यसलाई अधिकतम २५ प्रतिशतसम्म पुर्‍याएको छ। जवकी यस अगाडी लघुवित्तले १५ प्रतिशत भन्दा माथि लाभांश वितरण गर्दा १५ प्रतिशत भन्दा माथिको लाभांशको ५० प्रतिशत रकम लाभांश वितरण गर्न नपाउने जगेडा कोषमा जम्मा गर्नै पर्ने बाध्यता थियो। मौद्रिक नीतिमा शेयर धितो कर्जाको सीमा पनि २५ करोडसम्म पुर्‍याइएको छ।

नेपाल राष्ट्र बैंकको लचिलो नीति, सरकारको संवेदनशीलता, धितोपत्र बोर्डको प्रयास, र रिटेल लगानीकर्ताको सहभागिताले शेयर बजारमा नयाँ ऊर्जा थपिएको छ। यदि नीति निर्माण र कार्यान्वयनमा निरन्तरता रह्यो भने शेयर बजारले निकट भविष्यमा उल्लेख्य उचाई लिने निश्चित छ। त्यमा पनि बैंकहरुको व्याजदर इतिहासकै सर्वाधिक कम मध्ये एक हो। यस तहको तरलता अहिलेसम्म बैंकहरुमा देखिएको थिएन। जसले गर्दा निक्षेपको व्याजदर निकै तल्लो विन्दुमा छ भने संस्थागत लगानीकर्ताले बैंकहरुमा निक्षेप लिइदिन पावर लगाउनु पर्ने बाध्यता छ। यो भनेको शेयर बजारका लागि सबैभन्दा शोर्णिम समय हो।  

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया