वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर ५.४६३५ प्रतिशतमा झर्यो
- BFIS News
- 2025 Sep 16 10:57

काठमाडौं, भदौ ३१ गते। वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित विवरणअनुसार असोज महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा दिने अधिकतम औषत ब्याजदर घटेको देखिएको छ।
भदौ महिनामा ५.५७७ प्रतिशत रहेको औषत ब्याजदर असोजमा घटेर ५.४६३५ प्रतिशतमा झरेको छ। यसरी समीक्षा अवधिमा बैंकको ब्याजदर ०.११ प्रतिशतविन्दुले घटेको हो।
२० वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुले ब्याजदर घटाएपछि औषत ब्याजदरमा गिरावट आएको हो। भदौको तुलनामा प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले ब्याजदर ०.५ प्रतिशतविन्दुले घटाएका छन्। यस्तै, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले ०.२५ प्रतिशतविन्दुले तथा कुमारी बैंकले ०.२ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्।
अर्कोतर्फ, दुई वाणिज्य बैंकहरुले भने असोज महिनामा ब्याजदर बढाएका छन्। लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशतविन्दुले र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतविन्दुले ब्याजदर बढाएका हुन्। बाँकी ९ बैंकहरुले भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
व्यक्तिगत मुद्दति निक्षेपमा असोज महिनामा सबैभन्दा कम ब्याज दिने बैंक कुमारी बैंक रहेको छ, जसले अधिकतममा ५.०१ प्रतिशत ब्याज दिनेछ। अधिकतम ब्याजदर ६ प्रतिशत कायम राख्ने बैंकहरुमा एनआईसी एशिया, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनएमबि र हिमालयन बैंक रहेका छन्।
संस्थापक मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर पनि घटेको छ। समीक्षा अवधिमा यो दर ०.०८८५ प्रतिशतविन्दुले घटेर आएको हो। ७ वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदा यस्तो परिवर्तन देखिएको हो भने १३ बैंकहरुले भदौ महिनाकै ब्याजदरलाई कायम राखेका छन्।
बैंकहरुले ब्याजदर घटाउने वा स्थिर राख्ने निर्णय हालको कर्जा लगानीको अवस्था हेरेर गरेका हुन्। अहिले बैंकहरुमा ७२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप भए पनि कर्जा लगानी ५६ खर्ब २१ अर्बमै सीमित छ। यसले बैंकहरुले नयाँ कर्जा प्रवाहमा कठिनाई भोगिरहेका संकेत गर्छ।
पछिल्लो समयको जेनजी आन्दोलनले पर्यटन व्यवसायलाई ठूलो असर पारेको छ। तर, सरकारी संरचना ध्वस्त भएपछि ती संरचना पुनर्निर्माणका लागि रड, सिमेन्ट जस्ता सामाग्रीमा खर्च बढ्नाले बजारमा केही मात्रामा पैसा परिसंचालन भए पनि निजी संरचनामा भने ठुलो प्रभाव परेको छैन। यसकारण बैंकहरुको अवस्था अहिले सुरक्षित देखिएको छ।
प्रतिक्रिया