जेनजी आन्दोलनपछि बैंकहरुलाई अप्रत्यक्ष रुपमा ठुलो प्रभाव, पुनर्निर्माणले आन्तरिक अर्थतन्त्रलाई सामान्य टेवा
- BFIS News
- 2025 Oct 01 11:33

काठमाडौं। जेनजी आन्दोलन पछि बैंकहरुलाई अप्रत्यक्ष रुपमा प्रभाव पार्ने देखिएको छ। आन्दोलनका क्रममा बैंकहरुको संरचनामा खासै ठुलो क्षति नपुगे पनि बैंकहरुले कर्जा प्रभाव गरेका कतिपय संरचनामा क्षति पुर्याउदा केहि बैंकहरुलाई भने नराम्रो सँग प्रभाव पार्ने भएको छ।
जेनजी आन्दोलनबाट क्षति पुर्याएका संरचनामा प्रभाव भएका कर्जाको अहिले नै प्रोभिजनिङ गर्नु पर्ने भएकाले ति बैंकहरुको वित्तीय विवरण विग्रिने छ। भाटभटेनी सुपरमार्केट, हिल्टन होटल, पोखराका केहि होटल, सिजी संरचना, उद्योगी व्यवसायीको निजी संरचनामा क्षति पुर्याएको हुँदा ति संरचना धितोमा राखेर प्रभाव भएका कर्जालाई अहिले नै कर्जा नोक्सानी भित्र मूल्याङ्कन गर्नु पर्ने हुन्छ।
यद्यपी ति संरचनाको बीमा गरिएको हुन्छ। बीमाबाट निश्चित रकम असुली हुन्छ। तर कर्जा प्रभाव गर्दा संरचना बाहेक प्रोजेक्टको गुडविललाई पनि मूल्याङ्कन गरिने भएकाले यसको अप्रत्यक्ष असर पर्नेछ। यस बाहेक आन्तरिक अर्थतन्त्रमा पारेको प्रभावले घुमाउरो रुपमा बैंकहरुमा ठुलो असर पर्ने बैंकरहरु बताउछन्।
आन्दोलन पछि आन्तरिक अर्थतन्त्रमा पार्ने सकारात्मक पक्ष
जेनजी आन्दोलनका कारण ध्वस्त भएका संरचना पुनर्निर्माणमा जानै लाग्दा आन्तरिक अर्थतन्त्रमा भने पुनः निर्माण सामग्रीको माग बढ्ने निश्चित छ। विशेषगरी डण्डी सिमेन्टको खपत उल्लेख्य मात्रामा वृद्धि हुने अर्थशास्त्रीहरूले बताएका छन्।
२०७२ सालको भूकम्पपश्चात व्यापक क्षति हुँदा पुनर्निर्माणका क्रममा बजारमा निर्माण सामग्रीको माग असामान्य रूपमा बढेको थियो। सो अनुभवले विपद् वा आन्दोलनपश्चातको पुनर्निर्माणले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याउँछ। भूकम्पपछि आएको माग थेग्न कठिन बनेको स्मरण गर्दै अर्थशास्त्रीहरूले हालको जेनजी आन्दोलनपछि पनि समान परिस्थिति दोहोरिन सक्ने आकलन गरेका छन्। यद्यपी त्यस समयमा जस्तै अहिले ठुलो समुदायमा प्रभाव छैन।
जेनजी आन्दोलनका क्रममा निजी संरचनामा खासै क्षति नभए पनि सरकारी भवन र संरचनामा खर्बौँ रुपैयाँ बराबरको क्षति पुगेको थियो। अब ती संरचना पुनर्निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले यसले सुस्त अर्थतन्त्रलाई पुनः गतिशील बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
अध्यारा पक्षहरु
उर्जा मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रङ्क लाइन प्रयोग गर्ने उद्योगी तथा व्यवसायीलाई बक्यौता तिर्न निर्देशन दिएका छन्। यसले केही उद्योगहरूमा थप दबाब सिर्जना गरेको छ। कतिपय उद्योगले बक्यौता तिर्ने हैसियत नभएको भन्दै उद्योग नै बन्द गर्ने चेतावनी दिएका छन्। केही कम्पनीको बक्यौता रकम उनीहरूको नेटवर्थ भन्दा बढी रहेको पाइएको छ, जसले उद्योग क्षेत्रमा थप संकट निम्त्याउन सक्ने देखिन्छ।
जेनजी आन्दोलनबाट सबैभन्दा ठूलो असर भने पर्यटन क्षेत्रमा परेको छ। आन्दोलनका क्रममा नेपाल आउन बुकिङ गरेका पर्यटकहरूले बुकिङ रद्द गरेका छन्। नेपाल भ्रमणको योजना बनाएका नयाँ पर्यटकहरूले समेत आफ्नो योजना अन्यत्रतर्फ मोडेका छन्। यसले नेपालको हवाई र होटल व्यवसाय दुवै क्षेत्रमा ठूलो धक्का पुर्याएको छ। अब होटल र पर्यटन व्यवसायले लिएका कर्जा असुल्न गाह्रो हुने देखिएको छ, जसले बैंकलाई थप दबाबमा पार्नेछ।
यस्तै, साना–ठूला ठेक्का कम्पनीहरू पनि प्रभावित भएका छन्। पुराना ठेक्काको भुक्तानी रोकिएका कारण नयाँ आयोजना अघि बढाउन कठिनाइ देखिएको छ। आगामी दिनमा सरकारले पुनर्निर्माणको बजेट छिट्टै रिलिज गर्छ वा गर्दैन भन्ने कुराले निर्माण व्यवसायको भविष्य निर्धारण गर्नेछ। त्यस्तै, आसन्न निर्वाचनको दबाबका कारण अन्य विकास निर्माण कार्यहरू पनि प्रभावित हुने निश्चित छ।
अर्थशास्त्रीहरूको मूल्यांकनमा, प्राविधिक रूपमा आन्दोलनबाट नष्ट भएका संरचना सरकारकै सम्पत्ति भएकाले अन्ततः त्यसको भार नेपाली करदाताले नै व्यहोर्नु पर्नेछ। सरकारले पुनर्निर्माणका लागि वैदेशिक ऋण लिनु परे पनि त्यसको दायित्व जनतामै पर्ने छ।
अर्थतन्त्रमा दबाब बढे पनि बैंकहरू आफैं गम्भीर संकटमा फस्ने अवस्था भने देखिएको छैन। तर, पर्यटन, होटल व्यवसाय, ठेक्का कम्पनी र केही उद्योगमा कर्जाको जोखिम बढ्ने पक्का भएको अर्थविद्हरूको निष्कर्ष छ।
प्रतिक्रिया