नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर आवेदन दिने म्याद कात्तिक ९ गतेसम्म थप
- BFIS News
- 2025 Oct 08 10:06

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने समयावधि कात्तिक ९ गतेसम्म थप गरेको छ।
बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अर्थात् १:१ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार बैंकले कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ, जसको अंकित मूल्य प्रतिशेयर १०० रुपैयाँ रहेको छ। यसरी बैंकले कुल २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशनमा ल्याएको हो।
हकप्रद शेयर निष्काशनको लागि बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो। त्यस अनुसार भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
बैंकको हकप्रद शेयर निष्काशनको रेटिङ्ग ‘इक्रा नेपाल’ले गरेको छ। जसअनुसार बैंकलाई ‘ICRA NP Issuer Rating C+’ रेटिङ्ग दिइएको छ। यसले बैंकले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा धेरै उच्च जोखिम रहेको देखाउँछ।
बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आइएमई बैंकको भुमही, नवलपरासी शाखा तथा नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय, यज्ञपुरी, टाँडी, पर्सा र नारायणगढ शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।
यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणाली प्रयोग गरी वा CDSC को 'मेरो शेयर' सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।
हाल बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन पश्चात यो पूँजी दोब्बर भएर ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ।
बैंकले हकप्रद शेयरबाट संकलित रकम धितोपत्र, सरकारी ऋणपत्र तथा म्युचुअल फण्डमा लगानी गर्न, साथै भौतिक पूर्वाधार निर्माण र शाखा विस्तारमा प्रयोग गर्ने जनाएको छ।
प्रतिक्रिया