NIMB Header 2
Nepal Life

राजनीतिक चुनौतीबीच नेपालको अर्थतन्त्र स्थिर: गभर्नर पौडेल, सार्कफाइनान्सको अध्यक्ष भुटानलाई हस्तान्तरण

Muktinath Bank
  • BFIS News
  • 2025 Oct 15 20:19
राजनीतिक चुनौतीबीच नेपालको अर्थतन्त्र स्थिर: गभर्नर पौडेल, सार्कफाइनान्सको अध्यक्ष भुटानलाई हस्तान्तरण
National Life

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल १४ अक्टोबर २०२५ मा संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डीसीमा सम्पन्न ‘४८औं SAARCFINANCE Governors’ Group Meeting’ मा सहभागी भएका छन्। वासिङ्गटन डीसीमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को वार्षिक बैठकका अवसरमा उक्त बैठक आयोजना गरिएको थियो।

NIMB

बङ्गलादेश बैंकका गभर्नर डा. असान एच. मन्सुरको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा दक्षिण एसियाका विभिन्न मुलुकका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर, अर्थ मन्त्रालयका अधिकारी तथा अन्य प्रतिनिधिहरूको सहभागिता थियो।

बैठकलाई सम्बोधन गर्दै गभर्नर पौडेलले नेपालको हालको आर्थिक अवस्थाबारे विस्तृत विश्लेषण प्रस्तुत गरे। उनले मुद्रास्फीति र बाह्य क्षेत्रका सूचकहरू सहज अवस्थामा रहेको बताए भने पछिल्ला राजनीतिक घटनाक्रमका कारण वित्तीय सन्तुलन र दिगो आर्थिक वृद्धिका प्रयासमा केही चुनौती थपिएको धारणा राखे। ती चुनौतीलाई सम्बोधन गर्न अर्थतन्त्रको पुनरुत्थान र गतिशीलता कायम राख्न नीतिगत सहजीकरणका प्रयास थालिएको उनले जानकारी दिए।

उद्घाटन सत्रमा बङ्गलादेश बैंकका गभर्नर मन्सुरले दक्षिण एसियाली मुलुकका केन्द्रीय बैंकबीच क्षेत्रीय सहकार्य, ज्ञान सटान र असल अभ्यासको आदानप्रदानका लागि SAARCFINANCE एक साझा मञ्चको रूपमा विकसित भएको उल्लेख गरे। कार्यक्रममा सहभागी प्रत्येक देशका प्रतिनिधिहरूले आ–आफ्नो देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारे प्रस्तुतिहरू दिएका थिए।

बैठकमा सार्क पेमेन्ट काउन्सिलको प्रभावकारिता, सार्क क्षेत्रमा वित्तीय समावेशीकरण, सदस्य राष्ट्रबीच ‘करेन्सी स्वाप’को सम्भावना, साझा अनुसन्धान र तथ्याङ्क प्रणाली, सार्क छात्रवृत्ति कार्यक्रम, र आगामी कार्यदिशासम्बन्धी विषयमा सहभागीबीच विस्तृत छलफल भएको थियो।

बैठकमा सहभागी केन्द्रीय बैंकका गभर्नरहरूले आगामी दिनमा सार्क सदस्य राष्ट्रबीच आर्थिक तथा वित्तीय क्षेत्रका समसामयिक विषयमा समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

सोही अवसरमा SAARCFINANCE को अध्यक्षता नेपालबाट भुटानको केन्द्रीय बैंक ‘रोयल मनिटरी अथोरिटी’मा हस्तान्तरण गरिएको छ। बैठकमा नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेल र गभर्नर कार्यालयका निर्देशक शरणकुमार अधिकारीको समेत सहभागिता थियो।

स्मरण रहोस्, SAARCFINANCE दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) अन्तर्गत सदस्य राष्ट्रका केन्द्रीय बैंकका गभर्नर तथा अर्थ सचिवहरूको सञ्जाल हो। सार्क राष्ट्रबीच समष्टिगत आर्थिक नीतिसम्बन्धी छलफल र पारस्परिक सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले सन् १९९८ मा SAARCFINANCE स्थापना गरिएको थियो। यसलाई सन् २००२ जनवरीमा काठमाडौंमा सम्पन्न ‘एघारौँ सार्क शिखर सम्मेलन’ले औपचारिक मान्यता प्रदान गरेको थियो।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार