NIMB Header 2
Nepal Life

गरिमा विकास बैंक: नेपालकै उत्कृष्ट विकास बैंक बन्ने यात्रामा दृढ संकल्पित

Muktinath Bank
  • माधव प्रसाद उपाध्याय
  • 2025 Nov 13 13:44
गरिमा विकास बैंक: नेपालकै उत्कृष्ट विकास बैंक बन्ने यात्रामा दृढ संकल्पित
National Life

काठमाडौं। व्यवसाय विस्तार तथा मुनाफाको दृष्टिकोणबाट यस विकास बैंकको लागि आर्थिक वर्ष २०८१/८२ सकारात्मक रह्यो । समिक्षा वर्षमा विकास बैंकको निक्षेप परिचालन ७.७२ प्रतिशतले वृद्धि भई कुल निक्षेप रु.९२ अर्व ६८ करोड पुगेको छ। कर्जा लगानी ७.७९ प्रतिशतले वृद्धि भई कुल कर्जा लगानी रु.७६ अर्व ७१ करोड पुगेको छ। त्यसैगरी विकास बैंकको सञ्चालन मुनाफा र खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १८१.६७ प्रतिशत र १८७.५२ प्रतिशतले वृद्धि भई क्रमशः रु.१ अर्ब ८१ करोड र रु.१ अर्ब २५ करोड आर्जन भएको छ।

NIMB

विगत केही वर्षदेखि देशको समग्र आर्थिक गतिविधिहरुमा देखिएको संकुचनको अवस्थामा आर्थिक वर्ष २०८१/८२ मा समेत अपेक्षाकृत रुपमा सुधार हुन सकेन । नेपालको समग्र बैंकिङ्ग क्षेत्रमा समिक्षा वर्षमा प्रर्याप्त लगानीयोग्य रकम उपलब्ध रहेको र कर्जाको व्याजदर एकल अंकमा झर्दा समेत बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी अपेक्षाकृत रुपमा वृद्धि हुन नसकेको सन्दर्भमा यस विकास बैंकको कर्जा विस्तार समेत सन्तोषजनक देखिएको छ । समिक्षा वर्षमा विकास बैंकहरुको औसत कर्जा वृद्धि ६.१ प्रतिशत रहेको सन्दर्भमा यस विकास बैंकको कर्जा वृद्धि ७.७९ प्रतिशत रह्यो । त्यसैगरी समिक्षा वर्षमा विकास बैंकको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १८७.५२ प्रतिशतले वृद्धि भई रु.१ अर्ब २५ करोड भएको छ । विकास बैंकका अन्य वित्तीय सूचकहरु तथा सूचना प्रविधिमा आधारित डेविट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग, QR Code लगायत डिजिटल बैंकिन्नसँग सम्बन्धित सेवाहरुको उल्लेख्य रुपमा विस्तार भएको छ।

विकास बैंकले भारतीय चेम्बर अफ कमर्सद्धारा २९ अगष्ट २०२५ मा भारतको नयाँ दिल्लीमा आयोजित तेश्रो इमर्जिङ्ग एसिया बैंकिङ्ग कन्क्लेभ एण्ड अवार्ड कार्यक्रममा The Best Bank Award, The Best Al-ML Bank Award MSME Acceleration विधामा Runner up को अवार्ड प्राप्त गरेको छ । त्यसैगरी, कर्पोरेट क्लब नेपालले मिति २०८१ फाल्गुन १३ मा काठमाण्डौमा आयोजना गरेको वार्षिक अवार्ड समारोहमा यस विकास बैंकले कर्पोरेट क्षेत्रमा उत्कृष्टता प्रदान गरे बापत Corporate Excellence-2024 in Development Bank Award बाट सम्मानित भएको छ । उल्लिखित अवार्डबाट विकास बैंक सम्मानित हुँदै गर्दा आगामी दिनमा वित्तीय सेवालाई परिस्कृत गर्दै उत्कृष्ट सेवा प्रवाहमा थप प्रतिवद्ध भई अगाडि बढ्नका लागि हामीलाई थप ऊर्जा प्राप्त भएको छ।

विकास बैंकले व्यवसाय विस्तार सँगसँगै सामाजिक उत्तरदायित्व प्रति अग्रसर रही समाजमा शिक्षा, स्वास्थ्य, मानवीय सहायता तथा राहत, वातावरणीय संरक्षण, वित्तीय साक्षरता, दिगो विकासका लक्ष्य लगायतका विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय रुपमा सहभागिता जनाएको छ, जसका कारण यस विकास बैंक पनि समाजको एक उत्तरदायी संस्थाको रुपमा समाजसँग थप निकट पुगेको हामीहरुलाई आभास भएको छ।

समिक्षा वर्षमा यस विकास बैंकको व्यवसायको वृद्धि संगसंगै विकास बैंकको विद्यमान संरचनालाई सशक्त बनाउने, सेवा प्रवाहको गुणस्तर वृद्धि तथा सम्पत्तिको गुणस्तर कायम गर्ने कार्यमा समेत विशेष रुपमा जोड दिईएको छ।

उत्पादन तथा रोजगारी सिर्जना गरी देशको अर्थतन्त्रलाई अगाडि बढाउनको लागि साना तथा मझौला उद्यम सँगसँगै उर्जा, कृर्षि, पूर्वाधार निर्माण, लगायतका क्षेत्रहरुको निकै नै ठुलो भूमिका रहेको हुन्छ । यस विकास बैंकले कर्जा लगानीको सन्दर्भमा साना तथा मझौला र उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी अर्थतन्त्रका हरेका क्षेत्रमा सन्तुलित कर्जा प्रवाह गर्ने कार्यलाई जोड दिएको छ । बैंकिङ्ग क्षेत्रमा विकास भएका आधुनिक उपकरण तथा प्रविधिको प्रयोग सँगै ग्राहकवर्गहरुलाई सरल, सुलभ, ग्राहकमैत्री तथा प्रविधिमैत्री ढंगवाट सेवा प्रवाह सँगसँगै समुदायको दिगो आर्थिक विकासमा विकास बैंक दृढ संकल्पका साथ कार्य गर्दै आइरहेको छ।

त्यसैगरी विगत केही वर्षयता मुलुकको समग्र आर्थिक गतिविधिमा देखिएको शिथिलता लगायत अन्य विविध कारणबाट लगानीकर्ताहरुको आत्मविश्वासमा आएको कमीका कारण व्यावसायिक वातावरण अपेक्षाकृत रुपमा सुदृढ हुन नसकेको अवस्थामा व्यावसायिक वातावरण भरोसायोग्य बनाउनको लागि बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय अनुशासन कायम राखी, वित्तीय सचेतना लगायतका क्रियाकलापहरु मार्फत महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको छ।

विगत केही वर्षदेखि विकास बैंकको आफ्नै भवनमा केन्द्रीय कार्यालय सञ्चालन गर्ने दृढताका साथ काठमाण्डौ उपत्यकाको मुख्य स्थानहरुमा केन्द्रीय कार्यालयका लागि उपयुक्त घर/जग्गा खरिदको प्रक्रिया अगाडि बढाईएकोमा मिति २०८२ जेष्ठ १६ गते काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका वडा नं. ३, बालुवाटारमा अवस्थित २-५-१-१ (रोपनी) क्षेत्रफल र उक्त जग्गामा निर्माण सम्पन्न भएको ४७,६२५.१६ वर्गफिट क्षेत्रफलको ७ तले आधुनिक व्यवसायिक भवन खरिद गरिएको र हाल उक्त भवनमा केन्द्रीय कार्यालय सञ्चालन प्रयोजनको लागि आवश्यक पर्ने आन्तरिक संरचना निर्माण तथा सजावट सम्बन्धी कार्य अगाडि बढाईएको व्यहोरा यहाँहरु समक्ष जानकारी गराउन चाहन्छु।

मानव संसाधन विकास बैंकका अमुल्य सम्पत्ति हुन र उनीहरुमा गरिएको उपयुक्त लगानीले मात्र संस्थालाई दीर्घकालसम्म प्रतिफल दिन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै यस विकास बैंकले कर्मचारी भर्न सँगसँगै उनीहरुको क्षमता अभिवृद्धिका लागि आन्तरिक एवं वाह्य तालिम, सेमिनार एवं गोष्ठीहरुमा सहभागी गराउने तथा उनीहरुको वृत्ति विकास र सशक्तिकरणमा विशेष ध्यान दिईएको छ।

समिक्षा वर्षदेखि कर्मचारीहरुको ज्ञान, दक्षता तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यसम्पादन मुल्यांकनको आधारमा वृत्ति विकासको अवसर सुनिश्चितता हुने प्रणालीको विकास गरिएको छ । चुनौतिपूर्ण परिस्थितिहरुमा समेत सञ्चालक समितिको दुरदर्शी तथा निरन्तर मार्गदर्शन र कर्मचारीहरुको लगन एवं मेहनतका कारण विकास बैंक लगानीकर्ताहरुलाई अटुट रुपमा सन्तुलित प्रतिफल प्रदान गर्ने तथा विकास बैंकसँग सम्बद्ध सम्पूर्ण पक्षहरुको उच्च हित हुने गरी कार्य गर्ने लक्ष्य हासिल गर्न विकास बैंक प्रतिवद्ध रहेको छ।

अन्त्यमा, विकास बैंकको निरन्तर प्रगतिको यात्रामा यहाँहरुबाट प्राप्त साथ, सहयोग, मार्गदर्शन र विश्वासको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। आदरणीय शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु, सञ्चार क्षेत्र, सेवाग्राही तथा कर्मचारीहरु लगायत यस विकास बैंकलाई प्रत्यक्ष अप्रत्यक्ष रुपले सहयोग पुऱ्याउनु हुने सम्पूर्ण शुभेच्छुकहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। आगामी दिनमा समेत विगतमा जस्तै निरन्तर सहयोगको अपेक्षा राख्दै यस विकास बैंकलाई सदैव उत्कृष्ट वित्तीय संस्थाको रुपमा स्थापित गराउन निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु। धन्यवाद ।

(प्रस्तुत विचार गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायको हो। उनले बैंकको १९ औं वार्षिक साधारणसभाको अवसरमा व्यक्त गरेको विचार हो।)

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया