गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
- BFIS News
- 2025 Nov 26 14:47
चितवन, मङ्सिर १० गते। आगामी पुस १ गतेदेखि नेपालमा बाघ गणना सुरु हुने भएको छ। पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा तीन महिनासम्म बाघ गणना चल्नेछ। बाघ गणना हरेक चार वर्षमा नियमित रूपमा गरिँदै आएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिनामा गणना पूरा गरिनेछ। सुरुमा चितवन र पर्सालाई एकै कम्प्लेक्स बनाएर गणना थालिने र यस कम्प्लेक्सलाई तीन ब्लकमा विभाजन गरिएको उनले बताए।
प्रत्येक ब्लकभित्र दुई वर्गकिलोमिटर क्षेत्रमा एक जोडी क्यामेरा जडान गरिनेछ, जसलाई ग्रीड प्रणाली भनिन्छ। क्यामेरा १५ रातसम्म एउटै ग्रीडमा राखेर त्यसपछि अर्को ग्रीडमा सारिनेछ।
दोस्रो कम्प्लेक्समा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज रहनेछन्, जसमा पनि तीन ब्लक रहनेछन्। तेस्रो कम्प्लेक्समा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी क्षेत्र समेटिनेछ, जसलाई एउटै ब्लकका रूपमा गणना गरिने जनाएको छ।
नेपालभरि सरकारी तथा दातृ निकायसँग उपलब्ध १,१०० वटा क्यामेरा प्रयोग गरिने विभागले जनाएको छ। पुरानै क्यामेरा प्रयोग गरिनुका कारण गणनामा करिब रु. २ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ।
पछिल्लो पटक सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वयस्क बाघ फेला परेका थिए। तीमध्ये चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएको थियो।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार बाघ धेरै ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा जडान गरिनेछ। ती क्यामेराले खिचेका फोटोमा बाघका शरीरका पाटा–ढाँचाका आधारमा सङ्ख्या छुट्याइने बताइएको छ, किनकि हरेक बाघको पाटा अलग–अलग हुने गर्दछ।
बाघ गणना सम्पन्न भएपछि गैँडा गणना गर्ने तयारी पनि विभागले सुरु गरेको छ। गत वर्ष बजेट अभावका कारण गैँडा गणना रोकिएको थियो। यस वर्ष भने फरक विधिबाट गैँडा गणना गरिने विभागले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)













.jpeg)





प्रतिक्रिया