प्रहरी महानिरीक्षक कार्की : “सर्वसाधारणको सुरक्षामा कुनै कमी हुन दिइँदैन”
- BFIS News
- 2025 Nov 26 15:24
बुटवल, मङ्सिर १० गते। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीले सर्वसाधारण नागरिकको सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्। चन्दा उठाउने, चोरी–डकैती तथा उच्छृङ्खल गतिविधि गर्नेहरूलाई कानूनको दायरामा ल्याएर उद्योगी व्यवसायीलाई ढुक्क भएर काम गर्न सक्ने वातावरण बनाइने उनले स्पष्ट गरे।
लुम्बिनी प्रदेश सुरक्षा परिषद्को बैठकमा सहभागी हुन रुपन्देही पुगेका आईजीपी कार्की र बुटवल उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच मङ्गलबार बुटवलमा भएको भेटघाट तथा छलफलका क्रममा उनले यो धारणा राखेका हुन्।
आईजीपी कार्कीले भने, “उद्योग, व्यापार र लगानी सुरक्षित रहे देश समृद्धितर्फ अघि बढ्छ। निजी क्षेत्रलाई सुरक्षाको सम्पूर्ण प्रत्याभूति दिलाउन प्रहरी प्रशासन कटिबद्ध छ।”
उनले भारत र चीनले औद्योगिक विकास तथा निर्यात वृद्धिका आधारमा तीव्र आर्थिक प्रगति हासिल गरेको उदाहरण दिँदै नेपालमा पनि सरकार र निजी क्षेत्रबीचको समन्वय अझै बलियो हुनुपर्ने बताए।
छलफलका क्रममा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले गत भदौ २३ र २४ मा जेन–जी आन्दोलनका क्रममा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाबाट निजी क्षेत्र त्रसित बनेको बताए।
उनले यस्ता घटनामा संलग्न व्यक्तिलाई चाँडो पहिचान गरी कानुनी कारबाही गर्न तथा उद्योग–व्यवसाय सञ्चालनका लागि भरपर्दो सुरक्षा वातावरण सुनिश्चित गर्न आग्रह गरे।
अध्यक्ष अर्यालले निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएकाले भयमुक्त वातावरणमा उद्योग–व्यवसाय सञ्चालन हुन नसके अर्थतन्त्रमा गम्भीर असर पर्ने उल्लेख गर्दै भने,
“मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी योगदान गर्ने निजी क्षेत्र सुरक्षित नहुँदा समग्र आर्थिक स्थिरता संकटमा पर्न सक्छ।”
छलफलमा सङ्घका पूर्व अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य तथा यस क्षेत्रका प्रहरी अधिकारीहरूको उपस्थिति रहेको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)













.jpeg)





प्रतिक्रिया