NIMB Header 2
Nepal Life

अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 28 13:19
अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग
Everest Bank

भैरहवा, मङ्सिर १२ गते। सिद्धार्थ सञ्जाल रुपन्देहीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने मागसहित गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ। भैरहवामा आयोजित कार्यक्रममा सञ्जालका प्रतिनिधिले विभिन्न मागसहित ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्।

Shikhar
NIMB

सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीका अनुसार विमानस्थल सञ्चालन सबल बनाउन अध्यागमन कार्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, श्रम स्वीकृति कार्यालयलाई आधुनिक र सुविधासम्पन्न बनाउने, गाम्का तथा स्वास्थ्य परीक्षण कार्यालय स्थापना गर्ने, भिसा सेन्टर भैरहवाबाट सञ्चालन गर्ने तथा मेनपावर कम्पनीलाई सहज रूपमा स्वीकृति दिने माग रहेका छन्।

त्यसैगरी, संघीय सरकारको प्रतिबद्धता अनुरूप विमानस्थलमा उपलब्ध हुने सुविधा तत्काल कार्यान्वयन गर्न, भैरहवाबाट अन्तरप्रदेश आन्तरिक उडान बढाउन तथा भारतसहित तेस्रो मुलुकमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्नुपर्ने माग राखिएको छ। नेपाली वायु सेवा तथा बौद्ध मुलुकका बजेट एयरलाइनहरू भैरहवाबाट नै सञ्चालनमा ल्याउनुपर्ने समेत सञ्जालको आग्रह छ।

वैदेशिक रोजगारीमा जाने कामदारका लागि भैरहवाबाट प्रत्यक्ष उडान सुविधा उपलब्ध गराउन, नेपाल वायु सेवा निगमले भैरहवाबाट नियमित टिकट बिक्री तथा उडान सुरु गर्न, कार्गो सेवा सञ्चालन गर्न तथा निगमकै न्यारोबडी जहाज भैरहवामै राखी दैनिक अन्तर्राष्ट्रिय उडान चलाउनुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

पर्यटकलाई सहज सेवा उपलब्ध गराउन अनलाइन ई–भिसा, डिजिटल बैंकिङ तथा क्युआर भुक्तानी सेवा अध्यागमन कार्यालयमै उपलब्ध गराउनुपर्ने सुझाव सञ्जालले दिएको छ। साथै बेलहिया नाकामा पर्यटक सवारीसाधनमा लगाइएको आरटिओ कर प्रदेश सरकारले हटाइसक्दा पनि अझै असुली भइरहेकाले तत्काल खारेज गर्न माग गरिएको छ।

लुम्बिनी विकास कोष अन्तर्गत दातृ राष्ट्रको सहयोगमा प्राप्त विद्युतिय सवारीसाधन छ महिनादेखि नियमित सञ्चालनमा नआएकाले तत्काल सञ्चालनमा ल्याउन तथा सुनचाँदीमा लगाइएका दुई प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने माग पनि सञ्जालले गरेको अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया