NIMB Header 2
Nepal Life

श्रीलङ्कामा भीषण बाढी–पहिरो : मृत्यु ५६, सरकारी कार्यालय र विद्यालय बन्द

National Life
  • BFIS News
  • 2025 Nov 28 13:27
श्रीलङ्कामा भीषण बाढी–पहिरो : मृत्यु ५६, सरकारी कार्यालय र विद्यालय बन्द
Sanima Reliance

कोलम्बो, मङ्सिर १२ गते। लगातारको भारी वर्षापछि श्रीलङ्कामा उत्पन्न बाढी र भूस्खलनबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ। देशभर ६०० भन्दा धेरै घर क्षतिग्रस्त भएपछि सरकार ले शुक्रबार सबै सरकारी कार्यालय र विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

Shikhar
NIMB

गत हप्तादेखि बिग्रँदो मौसमका कारण श्रीलङ्का गम्भीर संकटमा परेको छ। बिहीबार परेको मुसलधारे वर्षाले घर, कृषि समूह तथा सडकहरू जलमग्न हुँदा धेरै क्षेत्र प्रभावित बनेका छन्। राजधानी कोलम्बोबाट करिब ३०० किलोमिटर पूर्वस्थित बदुल्ला र नुवारा इलियाको मध्य पहाडी भूभागमा मात्रै २५ जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

सरकारको विपद् व्यवस्थापन केन्द्रका अनुसार बदुल्ला–नुवारा इलिया क्षेत्रमा २१ जना बेपत्ता र १४ जना घाइते भएका छन्। देशका अन्य विभिन्न स्थानमा खसेका पहिरोका कारण थप जनहानि भएको पनि केन्द्रले पुष्टि गरेको छ।

निरन्तरको भारी वर्षाले जलाशय र नदीहरू भरिँदै गएकाले थुप्रै स्थानमा सडक र यातायात सेवा अवरुद्ध भएको छ। ढुङ्गा, माटो र रुखहरू सडक तथा रेलमार्गमा खस्दा केही क्षेत्रमा रेल सेवा समेत रोकिएको छ।

स्थानीय टेलिभिजन च्यानलहरूले बाढीले वेढिएको घरको छतमा फसेका तीनजनालाई श्रीलङ्का वायुसेनाले हेलिकप्टरमार्फत उद्धार गरेको दृश्य प्रसारण गरेका छन्। नौसेना र प्रहरीले समेत डुङ्गाको सहायताले विभिन्न स्थानका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य जारी राखेका छन्। पूर्वी सहर अम्पारा नजिकै पानीले कार बगाउँदा तीन जनाको मृत्यु भएको दृश्यसमेत बिहीबारको फुटेजमा देखाइएको छ।

बढ्दो वर्षा र कमजोर भू–भागका कारण जोखिम अझै उच्च रहेको भन्दै अधिकारीहरूले जनतालाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया