नेपाल–बङ्गलादेश ऊर्जा सहकार्य विस्तार : थप २० मेगावाट विद्युत् निर्यातकाे सहमति
- BFIS News
- 2025 Nov 28 13:35
काठमाडौँ, मङ्सिर १२ गते। नेपाल र बङ्गलादेशबिच विद्युत् उत्पादन तथा व्यापार विस्तार गर्ने उद्देश्यले बसेको सचिवस्तरीय बैठकले विद्युत् निर्यात, जलविद्युत् आयोजना निर्माण तथा प्रसारण लाइन पूर्वाधार विकाससम्बन्धी महत्वपूर्ण सहमति जनाएको छ।
बुधबार र बिहीबार बङ्गलादेशको ढाकामा सम्पन्न नेपाल–बङ्गलादेश सचिवस्तरीय बैठकमा नेपालबाट बङ्गलादेशमा निर्यात हुने बिजुलीको परिमाण विस्तार, संयुक्त जलविद्युत् लगानी, प्रसारण लाइनको अध्ययन तथा नवीकरणीय ऊर्जा सहकार्यलगायतका विषयमा सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौँ बैठक ऊर्जा सचिव चिरञ्जीवी चटौत र बङ्गलादेश सरकारका सचिव फर्जाना ममताजको सहअध्यक्षतामा बसेको थियो। बैठकले विभिन्न छ बुँदामा सहमति गरेको मन्त्रालयले जनाएको छ।
सहमति अनुसार हाल नेपालबाट ४० मेगावाट विद्युत् निर्यात हुँदै आएकोमा आगामी वर्ष बङ्गलादेशले थप २० मेगावाट विद्युत् नेपालबाट खरिद गर्नेछ। नेपाल–भारत–बङ्गलादेशबिच हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच वर्षका लागि ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता कार्यान्वयनमा रहेकै अवस्थामा थप २० मेगावाट पुर्याउने सहमति गरिएको हो।
यसअघि बुधबार सहसचिव सन्दीपकुमार देव र बङ्गलादेशका अतिरिक्त सचिव केएम अली रेजाको सहअध्यक्षतामा बसेको संयुक्त कार्यदल बैठकले सचिवस्तरीय छलफलका लागि एजेन्डा तय गरेको थियो।
बैठकमा सुनकोशी–३ (६८३ मेगावाट) जलविद्युत् आयोजनामा बङ्गलादेशको लगानी प्रक्रियालाई अगाडि बढाउन आयोजना मूल्याङ्कनका लागि विशेषज्ञ समिति गठन गर्ने सहमति भएको छ। उक्त आयोजना काभ्रे–रामेछाप सीमा क्षेत्रमा निर्माणको प्रस्ताव गरिएकाे हो। बङ्गलादेशका उच्च अधिकारीहरूले यसअघि नै स्थलगत अवलोकन गरिसकेको र २०७५ सालदेखि नै लगानी सम्बन्धी औपचारिक छलफल चल्दै आएको मन्त्रालयले जनाएको छ।
यस्तै, नेपालबाट भारतीय प्रसारण संरचना प्रयोग गर्दै बरापुरारया, पञ्चगढ, ठाकुरगाउँ, भरमारा र कोमिल्लासम्म बिजुली निर्यात गर्न आवश्यक अध्ययन गर्ने पनि सहमति गरिएको छ।
बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्धनसम्बन्धी समझदारीपत्रमा दुवै देशले आन्तरिक प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने र सौर्य ऊर्जा तथा विद्युतीय सवारी चार्जिङ स्टेसन विकासमा बङ्गलादेशले नेपाललाई प्राविधिक सहयोग प्रदान गर्ने सहमति गरेको छ।
त्यसैगरी, नेपाल–भारत–बङ्गलादेश त्रिदेशीय ऊर्जा सहकार्यसम्बन्धी MoU मा भारतको सहमति जुटाउन दुवै देशले संयुक्त पहल गर्ने निर्णय बैठकले गरेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)













.jpeg)





प्रतिक्रिया