NIMB Header 2
Nepal Life

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै चैलिङ गाउँ

National Life
  • BFIS News
  • 2025 Dec 05 13:58
पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै चैलिङ गाउँ
Sanima Reliance

धादिङबेँसी, मंसिर १९ गते । गाउँ प्रवेश गर्नेबित्तिकै देखिने चिटिक्क परेका घरहरू, आँगनभरि ढकमक्क फुलेका रङ्गीन फूलहरू र मुस्कानसहित पाहुनाको स्वागत गर्न आतुर स्थानीय—यही दृश्य हो धादिङको बेनीघाट रोराङ गाउँपालिका–८ स्थित चैलिङ गाउँको। हाल चैलिङ द्रुत गतिमा पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको छ।

Shikhar
NIMB

पृथ्वी राजमार्गबाट दक्षिणतर्फ ८ किलोमिटर पक्की र ३ किलोमिटर कच्ची सडक पार गर्दै पुगिने यो नेवार बस्ती अहिले ‘अर्गानिक होमस्टे’ को नयाँ पहिचानसहित चर्चामा छ।

चैलिङ पुग्ने आगन्तुकलाई यहाँको प्राकृतिक सुन्दरताले लोभ्याएजस्तै कला, संस्कृति र मौलिक खानपानले झनै मोहित पार्छ। “हामी बजारको होइन, गाउँकै माटोले दिएको अर्गानिक स्वाद चखाउँछौँ,” स्थानीय हीरा श्रेष्ठ बताउनुहुन्छ, “लोकल कुखुरा, कोदोको सेल, ढिँडो, फापरका परिकार, गुन्द्रुक र स्थानीय रक्सी (ऐला) मुख्य आकर्षण हुन्।” उहाँका अनुसार पाहुनाको मागअनुसार परिकार तत्काल तयार गरिन्छ।

यस्तै, नेवारी भेषभूषामा सजिएका दिदीबहिनीहरूले प्रस्तुत गर्ने सांस्कृतिक झाँकी र नृत्यले चैलिङमा आउने पर्यटकलाई थप रमाइलो वातावरण प्रदान गर्छ। “यहाँ बास र गाँस मात्र होइन, कला–संस्कृतिको जीवन्त अनुभव पनि पाउनुहुन्छ,” घरवास सञ्चालक कृष्ण श्रेष्ठ बताउनुहुन्छ।

गाउँका ३२ घरधुरीमध्ये १० घर ‘चैलिङ सामुदायिक घरवास’ अन्तर्गत सूचीकृत छन्, जसले एकैपटक ३५–४० अतिथिलाई आवास सुविधा दिन सक्छ। होमस्टे व्यवस्थापनलाई व्यवस्थित बनाउन स्थानीय व्यवसायी कृष्ण श्रेष्ठको नेतृत्वमा समिति गठन गरिएको छ, जसले सेवा–सुविधा, खानाको गुणस्तर र पाहुनाको व्यवस्थापन सम्हाल्दै आएको छ।

पर्यटक संख्या बढेसँगै चैलिङमा पूर्वाधार विकास पनि तीव्र बनेको छ। ३३ लाख रुपैयाँ लागतमा दुई तले सामुदायिक भवन निर्माण गरिएको छ। यसमा एक्सन नेपाल र डिसिएले २३ लाख, प्रदेश सरकारले १० लाख सहयोग गरेका छन् भने स्थानीयले १५ प्रतिशत श्रमदान गरेका छन्। अहिले विभिन्न संस्था र संघ–संस्थाले आफ्ना आवासीय तालिमहरू यही भवनमा सञ्चालन गर्न थालेका छन्।

पर्यटकीय सम्भावना देखेपछि गाउँपालिकाले चैलिङलाई प्राथमिकतामा राख्दै बाटो विस्तार, साइनबोर्ड स्थापना र स्थानीय उत्पादनको प्रवर्धनजस्ता कार्यक्रम अघि सारेको छ। गाउँपालिका अध्यक्ष कृष्णबहादुर (विवेक) थपलियाका अनुसार चैलिङलाई विषादीमुक्त खाद्य पदार्थको विशेष केन्द्र र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य छ।

सहरी भीडभाडबाट टाढा, स्वच्छ हावापानी, मौलिक खानाका परिकार र नेवारी संस्कृतिको न्यानो स्वागत—चैलिङ अहिले आन्तरिक तथा बाह्य दुवै पर्यटकका लागि लोभलाग्दो नयाँ गन्तव्य बन्दै गएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया