बंगलादेशमा फेब्रुअरी १२ मा १३औँ संसदीय निर्वाचन र जनमत संग्रह हुने
- BFIS News
- 2025 Dec 12 11:20
ढाका । बंगलादेशमा अर्को वर्ष फेब्रुअरी १२ मा १३औँ राष्ट्रिय संसदीय निर्वाचनसँगै जनमत संग्रह हुने भएको छ।
निर्वाचन आयोगका प्रमुख आयुक्त एएमएम नासिर उद्दिनले बिहीवार राति पूर्व–रेकर्ड गरिएको टेलिभिजन सम्बोधनमार्फत आगामी चुनाव तथा जनमत संग्रहको मिति घोषणा गरेका हुन्।
आयोगका अनुसार उम्मेदवार मनोनयन दर्ताको अन्तिम मिति डिसेम्बर २९ तोकिएको छ भने डिसेम्बर ३० देखि जनवरी ४ सम्म मनोनयन पत्रको जाँच गरिनेछ। बंगलादेशमा हाल १२ करोड ७० लाखभन्दा बढी मतदाता दर्ता भएको आयोगले जानकारी दिएको छ। मुख्य सल्लाहकार मुहम्मद युनुसले आगामी निर्वाचनलाई गत वर्ष जुलाईमा भएको जनविद्रोहपछि ‘नयाँ बंगलादेश’ निर्माण गर्ने ऐतिहासिक अवसरका रूपमा उल्लेख गर्दै यसलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए।
बंगलादेशको संसद ३५० सदस्यीय एक सदनात्मक व्यवस्थापिका हो, जसमा प्रत्यक्ष निर्वाचित ३०० सदस्य र महिलाका लागि आरक्षित ५० सदस्य छन्। आम निर्वाचनसँगै देशले राज्य सुधार प्रस्तावहरूमा जनमत संग्रह पनि गर्दैछ, जसले २०२४ को विद्रोहलाई संवैधानिक मान्यता दिने तथा राजनीतिक संरचनामा परिवर्तन ल्याउने उद्देश्य राखेको छ।
जनमत संग्रहको प्रमुख मुद्दामध्ये एक– संसदमा दोस्रो सदन (अप्पर हाउस) स्थापना गर्ने–नगर्ने हो। यदि प्रस्ताव स्वीकृत भयो भने संविधानका सबै भविष्यका संशोधनका लागि नयाँ माथिल्लो सदनको समर्थन आवश्यक हुनेछ। प्रस्तावित माथिल्लो सदनमा १०० सदस्य रहनेछन्, जसलाई राजनीतिक दलहरूले प्राप्त लोकप्रिय मतको अनुपातमा मनोनयन गरिनेछ।
यसैबीच, बंगलादेशी निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीको दर्ता निलम्बन गरिसकेको छ, जसका कारण उनको राजनीतिक दल आगामी चुनावमा सहभागी हुन पाउने छैन। गत महिना ढाकास्थित विशेष न्यायाधिकरणले २०२४ को जुलाई विद्रोहका क्रममा मानवता विरुद्धका अपराधमा उनीमाथि मृत्युदण्डको फैसला सुनाएको थियो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)








.jpeg)








प्रतिक्रिया