NIMB Header 2
Nepal Life

पुछारबाट शिखरसम्म: लुम्बिनी लायन्सको च्याम्पियन कथा

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 13 20:40
पुछारबाट शिखरसम्म: लुम्बिनी लायन्सको च्याम्पियन कथा
Everest Bank

काठमाडौँ । लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै नयाँ च्याम्पियन बनेको हो।

Shikhar
NIMB

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स लुम्बिनीको धारिलो बलिङअगाडि १९.१ ओभरमै ८५ रनमा अलआउट भयो। यो स्कोर एनपीएल फाइनल इतिहासकै सबैभन्दा कम योगफल हो। सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरीले १३ रन जोड्न सके।

लुम्बिनीका कप्तान रोहित पौडेल, शेर मल्ल र नामिबियन पेसर रुबेन ट्रम्पलम्यानले समान ३–३ विकेट लिँदै सुदूरपश्चिमको इनिङ्स ध्वस्त पारे। रोहितले ११औँ ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे। उनले ४ ओभरमा मात्र १२ रन खर्चिए। ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन खर्चेर ३ विकेट लिए भने शेर मल्लले ४ ओभरमा १८ रन दिएर ३ विकेट हात पारे।

८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले आक्रामक ब्याटिङ गर्दै ९ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। ओपनर दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गर्दै १३ बलमा ४२ रन बनाए। उनले कप्तान ऐरीको पहिलो ओभरमै ४ छक्का प्रहार गर्दै लुम्बिनीलाई शानदार सुरुआत दिलाएका थिए। अर्का ओपनर डार्शी शर्टले १४ रन जोडे। कप्तान रोहित पौडेलले १६ रन बनाए भने निरोशन डिक्वेलाले अविजित ११ रनको योगदान दिए। दिलिप नाथले विजयी रन जोडे।

रोचक च्याम्पियन यात्रा

लुम्बिनीको च्याम्पियन यात्रा निकै उतार–चढावपूर्ण रह्यो। पहिलो खेल जितेपछि लगातार तीन खेल हारेको लुम्बिनी एक समय लिग चरणबाटै बाहिरिने संघारमा पुगेको थियो। तर त्यसपछि लगातार ६ खेल जित्दै लुम्बिनीले अपराजित यात्रा कायम राखेर उपाधि जित्न सफल भयो। एलिमिनेटरमा काठमाडौँ गोर्खाज र दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनल पुगेको लुम्बिनीले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्‍यो।

गत सिजन अंक तालिकाको पुछारमा रहेर बाहिरिएको लुम्बिनी यस सिजन उपाधि जित्दै शानदार पुनरागमन गर्न सफल भएको हो। उता सुदूरपश्चिम भने लगातार दोस्रो सिजन उपविजेतामै सीमित रह्यो।

व्यक्तिगत अवार्ड

प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी लुम्बिनीका कप्तान रोहित पौडेल घोषित भए। उनले १० खेलमा २७६ रन र १० विकेट लिँदै ओमोडा कार प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) लुम्बिनीका रुबेन ट्रम्पलम्यान बने। १५ विकेट लिएका उनले ५ लाख रुपैयाँ प्राप्त गरे।

सर्वोत्कृष्ट ब्याटर पनि रोहित पौडेल घोषित भए भने सर्वोत्कृष्ट बलर विराटनगरका सन्दीप लामिछाने बने। इमर्जिङ खेलाडीको अवार्ड लुम्बिनीका शेर मल्लले पाए। फाइनलको प्लेयर अफ द म्याच रुबेन ट्रम्पलम्यान घोषित भए।

लुम्बिनीका स्पिनर शेर मल्लले १० खेलमा १७ विकेट लिँदै टोलीको उपाधि यात्रामा महत्वपूर्ण भूमिका खेले। यससँगै उनले लगातार दोस्रो सिजन एनपीएल उपाधि जित्ने कीर्तिमान पनि कायम गरे। एनपीएल सिजन–२ मा उत्कृष्ट पुनरागमनसहित लुम्बिनी लायन्सले नेपाली फ्रेन्चाइज क्रिकेटमा नयाँ इतिहास रचेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया