नाइमाद्धारा थापाथली क्याम्पसको सहकार्यमा सवारी साधन सम्बन्धी मोबिलिटी सम्बाद सम्पन्न
- BFIS News
- 2026 Jan 10 11:05
काठमाडौं, २०८२ पौष २५ — नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले Institute of Engineering (IOE), थापाथली क्याम्पससँगको सहकार्यमा आफ्नो मासिक Mobility Sambaad को नवौँ श्रृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ। क्याम्पस प्रमुख डा. खेम ज्ञवलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा “Completely Knocked Down (CKD) Vehicle Assembly: Opportunities, Challenges, and Prospects” मुख्य विषयका रूपमा प्रस्तुत गरिएको थियो।
अध्यक्षीय मन्तव्यमा क्याम्पस प्रमुख डा. ज्ञवलीले लामो समयपछि उद्योग–शिक्षा सहकार्यमा आधारित यति महत्वपूर्ण कार्यक्रम आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्दै यस्ता संवादहरू व्यवहारिक सिकाइ, अनुसन्धान तथा उद्योगसँगको सहकार्य विस्तारका लागि अत्यावश्यक रहेको उल्लेख गरे। उनले कार्यक्रम आयोजना गरेकोमा NAIMA तथा विद्यार्थी संगठन Automobile and Mechanical Engineering Students’ Innovative Nexus (AMESIN) लाई धन्यवाद दिए।
करिब २०० जना सहभागी रहेको कार्यक्रममा प्राविधिक प्रस्तुति र प्यानल छलफल आयोजना गरिएको थियो। प्राविधिक प्रस्तुतिको सहजीकरण थापाथली क्याम्पसका सहायक प्राध्यापक इ. लोचन केन्द्र देवकोटाले गरेका थिए। प्यानल छलफलमा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, उद्योगपति तथा NAIMA का बोर्ड सदस्य शेखर गोल्छा, र थापाथली क्याम्पसका डेपुटी इन्स्ट्रक्टर इ. लक्ष्मण पालिखे सहभागी थिए।
कार्यक्रमको स्वागत मन्तव्य अटोमोबिल एन्ड मेकानिकल इन्जिनियरिङ विभागका प्रमुख इ. देवेन्द्रबहादुर राउत तथा NAIMA का सदस्य एवं सारडा ग्रुपका निर्देशक गौरव सारडाले दिएका थिए। इ. राउतले राष्ट्रिय विकासका लागि स्थानीय उत्पादन अपरिहार्य रहेको उल्लेख गर्दै प्राज्ञिक र औद्योगिक क्षेत्रबीच अझ बलियो सहकार्य आवश्यक रहेकोमा जोड दिए। NAIMA सदस्य सारडाले CKD vehicle assembly लाई “Make in Nepal” नीतिसँग जोडिएको व्यवहारिक औद्योगिक मोडेलका रूपमा व्याख्या गर्दै यसले दक्ष जनशक्ति विकास, युवा रोजगारी सृजना, प्रविधि स्थानान्तरण तथा स्थानीय आपूर्ति श्रृङ्खलाको विकासमा महत्वपूर्ण योगदान दिने बताए।
प्यानल छलफलका क्रममा वक्ताहरूले मानव स्रोत विकास, प्रविधि सुदृढीकरण तथा नीतिगत स्थायित्वबिना दिगो औद्योगिक विकास सम्भव नहुनेमा जोड दिए। भारत, चीन, ब्राजिल तथा अफ्रिकी मुलुकहरूको अनुभवले CKD vehicle assembly लाई औद्योगिकीकरणको प्रारम्भिक आधारका रूपमा सफल बनाएको उदाहरण प्रस्तुत गर्दै “Make in Nepal” सन्दर्भमा यसको दीर्घकालीन सम्भावनाबारे चर्चा गरिएको थियो।
कार्यक्रमको सहजीकरण NAIMA का कार्यकारी निर्देशक राजकुमार दुलालले गरेका थिए। उनले आगामी दिनमा Mobility Sambaad लाई अझ फराकिलो सहकार्य र युवा सहभागिता सहित निरन्तरता दिइने जानकारी दिँदै यसको दशौँ श्रृङ्खला IOE पुल्चोक क्याम्पसमा आयोजना गर्ने योजना रहेको बताए।
समापन मन्तव्य काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी तथा NAIMA की बोर्ड सदस्य यमुना श्रेष्ठले दिएका थिए। एसएसपी अधिकारीले चालक, ट्राफिक प्रहरी तथा सरोकारवालाहरूलाई आधुनिक सवारी साधन प्रविधिबारे शिक्षित गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै उदीयमान सवारी प्रविधि तथा soft skills सम्बन्धी तालिम उपत्यकाका सम्पूर्ण ट्राफिक प्रहरीलाई प्रदान गर्ने NAIMA को पहलको प्रशंसा गर्नुभयो। साथै, हालै ट्राफिक प्रहरी कार्यालयमा भएको क्षतिपछि NAIMA ले गरेको सहयोगप्रति उहाँले आभार व्यक्त गरे।
NAIMA की बोर्ड सदस्य यमुना श्रेष्ठले CKD vehicle assembly, नीतिगत स्पष्टता तथा शैक्षिक संस्था, सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्र नेपालको अटोमोबिल उद्योगलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने धारणा व्यक्त गरे। Mobility Sambaad जस्ता संवादात्मक पहलहरूले ज्ञान आदान–प्रदान, नीतिगत समझदारी र दीर्घकालीन औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे।
नीति निर्माता, अटोमोबाइल उद्योगका प्रतिनिधि, शैक्षिक विज्ञ, ट्राफिक प्रहरी, सञ्चारकर्मी, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा खुला अन्तरक्रिया तथा प्रश्नोत्तर सत्रसमेत सञ्चालन गरिएको थियो। विद्यार्थी संगठन AMESIN को संयोजनमा सम्पन्न उक्त कार्यक्रममा CKD vehicle assembly मार्फत रोजगारी सृजना, सीप विकास, उत्पादकत्व वृद्धि तथा स्वदेशमै मूल्य श्रृङ्खला विस्तार गर्ने सम्भावनाहरूबारे गहन छलफल गरिएको थियो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया