नेशनल लाइफको जीवन बीमा कोष खर्ब नाघ्यो, व्यवसाय विस्तारमा सालिनता, हरेक सूचकमा सुधार
- BFIS News
- 2026 Aug 15 20:32
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको जीवन बीमा व्यवसाय विस्तार भए पनि खुद नाफामा भने अघिल्लो आर्थिक वर्षको तुलनामा कमी आएको छ।
समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोष १०.३५ प्रतिशतले वृद्धि भएर १ खर्ब ३ अर्ब ७१ करोड ४१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कोष ९३ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ रहेको थियो।
त्यस्तै, कम्पनीको कुल आर्जित बीमाशुल्क १३.८६ प्रतिशतले बढेर २४ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो बीमाशुल्क २१ अर्ब ८२ करोड २१ लाख रुपैयाँ रहेको थियो। यसैगरी, खुद आर्जित बीमाशुल्क १२.५१ प्रतिशतले वृद्धि भई २४ अर्ब १५ करोड ८७ लाख रुपैयाँ पुगेको छ।
बीमा व्यवसायको आकार विस्तार भए पनि कम्पनीको नाफामा भने दबाब देखिएको छ। समीक्षा अवधिमा कम्पनीले ३७ करोड ६ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४१ करोड २८ लाख ४३ हजार रुपैयाँ थियो। यस आधारमा नाफा १०.२३ प्रतिशतले घटेको हो।
कम्पनीको चुक्ता पुँजी पनि ४ प्रतिशतले वृद्धि भएर ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, महाविपत्ति कोष ५.४२ प्रतिशतले बढेर ७४ करोड ५९ लाख रुपैयाँ कायम भएको छ। तर, रिटेन्ड अर्निङमा भने उल्लेख्य कमी आएको छ। समीक्षा अवधिमा रिटेन्ड अर्निङ ४३.७६ प्रतिशतले घटेर ४८ करोड ९९ लाख रुपैयाँ मा सीमित भएको छ।
कम्पनीको बीमा पोलिसी धितोकर्जा १२.८२ प्रतिशतले घटेर १२ अर्ब ३३ करोड २६ लाख रुपैयाँ कायम भएको छ। अर्कोतर्फ, कम्पनीको कुल दाबी भुक्तानी दायित्व २३.०३ प्रतिशतले बढेर २ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ पुगेको छ। यसले एकातर्फ बीमा कोष र बीमाशुल्कमा वृद्धि भएको देखाए पनि अर्कोतर्फ दाबी दायित्व तथा खर्चतर्फको दबाबलाई समेत संकेत गर्छ।
वित्तीय सूचकतर्फ कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ६४ पैसा रहेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ७५ पैसा कायम भएको छ।
समग्रमा, नेशनल लाइफको समीक्षा अवधिको वित्तीय अवस्थाले बीमा कोष, कुल बीमाशुल्क र खुद बीमाशुल्कमा दोहोरो अंकको वृद्धि देखाएको छ। यद्यपि, नाफामा आएको गिरावट, रिटेन्ड अर्निङको कमी तथा दाबी दायित्वमा भएको वृद्धिले आगामी अवधिमा कम्पनीको नाफा र लाभांश क्षमतामा दबाब पर्न सक्ने संकेत गरेको छ। यद्यपी मुनाफा एक्चुरियल मूल्याङ्कन पछि मात्रै तय हुने भएकाले यो तथ्याङ्क लेखापरीक्षण पछि परिवर्तन हुनेछ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)






.jpg)




प्रतिक्रिया