अन्नपूर्ण माछा दाना उद्योगको आईपीओ निष्काशन तयारी, लक्ष्मी सन्राइज क्यापिटल नियुक्त
- BFIS News
- 2026 Jan 13 18:31
काठमाडौं । अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले रु. १०० अंकित दरका १०,०९,५३१ कित्ता साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो। उक्त शेयर निष्काशनबाट कम्पनीले कुल रु. १०,०९,५३,१०० बराबरको पूँजी संकलन गर्नेछ।
आईपीओ निष्काशनसम्बन्धी समझदारीका लागि मिति २०८२ पौष २९ गते लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको छ। सम्झौतामा अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत यश पुरी तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार निकट भविष्यमा कम्पनीको साधारण शेयर निष्काशन गरिनेछ।
अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड नेपालका अग्रणी माछा दाना उत्पादन गर्ने उद्योगहरूमध्ये एक हो। कम्पनीले युरोपेली प्रविधिमा आधारित आधुनिक उत्पादन प्रणालीमार्फत उच्च गुणस्तर, पोषणयुक्त तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका माछा दाना उत्पादन गर्दै आएको छ। देशभर फैलिएको सशक्त वितरण सञ्जालमार्फत कम्पनीले नेपालका सबै प्रदेशका मत्स्य कृषकलाई आफ्ना उत्पादन आपूर्ति गर्नुका साथै प्राविधिक परामर्श र किसानमैत्री सेवा प्रदान गर्दै आएको छ, जसले नेपालको मत्स्य क्षेत्रको दिगो विकासमा योगदान पुर्याइरहेको छ।
यसैबीच, नेपालका अग्रणी लगानी संस्था Team Ventures ले दाना उत्पादनमा केन्द्रित कृषि–प्रशोधन कम्पनी अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडमा रणनीतिक संस्थागत लगानी गरेको छ। Team Ventures तथा यसका सम्बद्ध साझेदारहरूले संयुक्त रूपमा रु. २१६.८ मिलियन लगानी गरेका हुन्, जसबाट कम्पनीमा पहिलोपटक संस्थागत पूँजी प्रवेश भएको छ। उक्त लगानीले स्वदेशी कृषि उद्योगमार्फत आर्थिक तथा सामाजिक प्रभाव सिर्जना गर्ने Team Ventures को प्रतिबद्धता झल्काउँछ।
Team Ventures का प्रमुख लगानी अधिकृत विकास चन्द्र भण्डारीले अन्नपूर्ण माछा दाना उद्योगलाई दिगो दाना उत्पादनमा राष्ट्रिय स्तरको अग्रणी कम्पनी बन्ने उच्च सम्भावना रहेको बताएका छन्। त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत यश पुरीले संस्थागत लगानीले कम्पनीको विस्तार, सुशासन सुदृढीकरण तथा आयात निर्भरता घटाउने लक्ष्यलाई थप गति दिने विश्वास व्यक्त गरे।
कम्पनीका अनुसार यस संस्थागत सहकार्यले अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडको आईपीओतर्फको यात्रालाई थप संरचित र सुदृढ बनाउँदै सार्वजनिक बजारमा प्रवेश गर्ने तयारीमा महत्वपूर्ण भूमिका खेलेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया