NIMB Header 2
Nepal Life

नेप्से परिसूचक १.१७ प्रतिशतले उकालो, कारोबार रकम पनि बढ्यो: चुनावको उत्साह थपियो

National Life
  • BFIS News
  • 2026 Jan 18 16:00
नेप्से परिसूचक १.१७ प्रतिशतले उकालो, कारोबार रकम पनि बढ्यो:  चुनावको उत्साह थपियो
Sanima Reliance

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक यस दिन भने १.१७ प्रतिशत अर्थात् ३१.१२ अंकले बढ्दै २ हजार ६७२.५५ विन्दुमा पुगेर बन्द भएको हो।

Shikhar
NIMB

बजारसँगै अन्य सूचकहरू पनि सकारात्मक देखिएका छन्। आइतबार सेन्सेटिभ इण्डेक्स ४.७० अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७४ अंकले उकालो लागेको छ।

नेप्सेको वृद्धिलाई कारोबार रकमले समेत बल पुर्‍याएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा यस दिन ३३८ स्टकको ९५ हजार ४४५ पटकको कारोबारमार्फत ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ११ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ।

यस दिन ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इण्डष्ट्रिज र गोर्खाज फाइनान्सका सेयर सर्किट लेभलमा पुगेका हुन्। त्यसैगरी, सेन्ट्रल फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ९ प्रतिशतले बढ्दा बन्दीपुर केबलकार एण्ड टुरिजमको सेयरमूल्य करिब साढे ७ प्रतिशतले वृद्धि भएको छ। यता, कारोबारमा आएको थ्रिस्टार हाइड्रोपावरको सेयरमूल्य भने सर्वाधिक ८.७८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको आइतबार ५३ करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, एसवाई प्यानल नेपालको ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ।

यस दिन नेप्सेमा सूचीकृत १३ वटै उपसमूहको परिसूचक बढेका छन्। तीमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७३ प्रतिशतले उकालो लागेको छ। त्यसैगरी, विकास बैंक उपसमूह ३ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन तथा उत्पादन तथा प्रशोधन उपसमूहका परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया