सुप्रिम हेल्थकेयरले १४ लाख कित्ता आइपिओ निष्काशन गर्दै, धितोपत्र बोर्डमा दियो आवेदन
- BFIS News
- 2026 Jan 20 18:36
काठमाडौं । सुप्रिम हेल्थकेयर लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीको आईपीओ सेबोनको पाइपलाइनमा समावेश भएको छ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका कुल १४ लाख कित्ता शेयर निष्काशनका लागि अनुमति मागेको हो। प्रस्तावित आईपीओमार्फत कम्पनीले सर्वसाधारणबाट पूँजी संकलन गर्ने योजना बनाएको छ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। सेबोनबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले आईपीओ निष्काशन प्रक्रिया अगाडि बढाउनेछ।
सन् २०१५ मा स्थापना भएको सुप्रिम हेल्थकेयर लिमिटेड नेपालकै छिटो विस्तार भइरहेको औषधि उत्पादन कम्पनीमध्ये एक हो। डब्लुएचओ–जिएमपी तथा आईएसओ ९००१:२०१५ प्रमाणित यस कम्पनीमा आधुनिक cGMP मापदण्डअनुसारको उत्पादन सुविधा, उपकरण तथा दक्ष प्राविधिक जनशक्ति रहेको छ। कम्पनीले ट्याब्लेट, क्याप्सुल, मलहम, क्रीम, टपिकल लोशन तथा सोलुसनलगायत विभिन्न औषधिजन्य उत्पादनहरू उत्पादन गर्दै आएको छ।
कम्पनीको उत्पादन केन्द्र बारा जिल्लामा अवस्थित छ, जसले करिब ६० हजार वर्गफिट क्षेत्रफल ओगटेको छ। उक्त उद्योग वीरगञ्ज शहरबाट करिब ८ किलोमिटर उत्तर र सिमरा विमानस्थलबाट १६ किलोमिटर दक्षिणमा रहेको छ। कम्पनीको कर्पोरेट कार्यालय भने वीरगञ्जमै रहेको छ। सुप्रिम हेल्थकेयरले हाल आफ्ना उत्पादनहरू नेपालभरि नै आन्तरिक बजारमा वितरण गर्दै आएको छ।
गुणस्तरीय औषधि सबैको पहुँच, उपलब्धता र किफायती मूल्यमा पुर्याउने लक्ष्यसहित अघि बढेको कम्पनीले दक्ष व्यवस्थापन टोली, प्राविधिक विज्ञ तथा तालिमप्राप्त कर्मचारीहरूको सहयोगमा नियामक मापदण्डको पूर्ण पालना गर्दै ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।
कम्पनीका प्रबन्ध निर्देशक मुकेश शर्माले सुप्रिम हेल्थकेयरको दिगो विकासका लागि कडा परिश्रम र नैतिक अभ्यासलाई आधार बनाइएको बताउँदै भविष्यमा लगानी विस्तार गर्दै बजार पहुँच बढाउने र इक्विटी मूल्य अभिवृद्धि गर्ने रणनीति रहेको उल्लेख गरेका छन्। उनले कम्पनीको प्रगतिमा कर्मचारी, वितरण साझेदार तथा सरोकारवालाको निरन्तर सहयोगप्रति आभार व्यक्त गरेका छन्।
आईपीओ निष्काशनपछि सुप्रिम हेल्थकेयर लिमिटेडको पूँजी संरचना थप मजबुत हुने र औषधि उत्पादन क्षमता तथा बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)
















प्रतिक्रिया