Nepal Life

पाल्पा सिमेन्टको स्थानीय आईपीओमा आवेदन अवधि माघ ११ गतेसम्म लम्बियो

NMB Bank
  • BFIS News
  • 2026 Jan 23 10:11
पाल्पा सिमेन्टको स्थानीय आईपीओमा आवेदन अवधि माघ ११ गतेसम्म लम्बियो
National Life

काठमाडौं। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्ब्याएको छ। पुस २५ गतेदेखि सुरु भएको उक्त आईपीओमा अब माघ ११ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

Shikhar
NIMB

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरिएको हो।

उक्त शेयर पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) तथा खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरिएको कम्पनीले जनाएको छ। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस (IRN BB+) इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको विवरण अनुसार नेट प्रिजेन्ट भ्यालु १२ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ रहेको छ भने इन्टरनल रेट अफ रिटर्न (IRR) १३.७८५ प्रतिशत रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ६ वर्ष ८ महिना तथा डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ९ वर्ष १२ महिना रहेको छ।

कम्पनीको उद्योग क्षेत्रफल १० बिघा १३ कठ्ठा १२ धुर र खानीको खुल क्षेत्रफल १७२ रोपनी ११ आना ३ पैसा १ दाम रहेको छ। पाल्पा सिमेन्टले २०७६ वैशाखदेखि क्लिंकर र २०७७ वैशाखदेखि सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता १ हजार ८०० मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता २ हजार २०० मेट्रिक टन रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानीय बासिन्दाहरूले नबिल बैंकको तानसेन, बर्दघाट, बुलिङटार र गैँडाकोट शाखा, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी र बेलातारी शाखा तथा सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

उद्योग तथा खानी प्रभावित क्षेत्रका बासिन्दाहरूले शेयर खरिद आवेदन फाराम प्राप्त गर्दा २ रुपैयाँ शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया