नेपालमा सुनचाँदीको मूल्य ऐतिहासिक उचाइमा, अन्तर्राष्ट्रिय भू–राजनीतिक तनावले थप बढ्ने
- BFIS News
- 2026 Jan 28 12:03
काठमाडौं । नेपालमा सुन र चाँदीको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ। घरेलु बहुमूल्य धातु बजारमा निरन्तर उकालो यात्रालाई निरन्तरता दिँदै बुधबार सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले बढ्दै ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ। यसअघि यही वर्ष जनवरी २७ मा छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन त्यसबेला नयाँ रेकर्ड मानिएको थियो।
त्यसैगरी, तेजाबी सुनको मूल्य पनि प्रतितोला ९ हजार ५०० रुपैयाँले बढेर ३ लाख १८ हजार १०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला ३ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि उकालो लागेको छ। बुधबार चाँदी प्रतितोला ४३० रुपैयाँले बढ्दै नयाँ उच्च बिन्दु ७ हजार ३०० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनलाई भू–राजनीतिक तनावको समर्थन
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य तीव्र रूपमा बढिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रशासनका उच्च अधिकारीहरूबाट ग्रिनल्यान्डलाई लिएर आएको कडा र विवादास्पद अभिव्यक्तिपछि विश्व बजारमा जोखिमबाट बच्ने (रिस्क–अफ) प्रवृत्ति बढेको देखिएको छ। यही कारणले सुनको मूल्य एकैचोटि उकालो लाग्दै प्रतिऔंस ४८०० अमेरिकी डलर नाघेको बताइएको छ।
विशेषज्ञहरूका अनुसार ट्रम्पको दोस्रो कार्यकालको सुरुआती वर्षदेखि नै व्यापार कर, भूराजनीतिक दबाब र आकस्मिक नीतिगत घोषणापछि लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित हुने प्रवृत्ति देखिँदै आएको छ। यस्ता अवस्थाले सुनको माग बढाउँदै आएको छ।
यसपटक भने अवस्था केही फरक देखिएको छ। नाटोसँगको सहमतिपछि ग्रिनल्यान्डसम्बन्धी अमेरिकी अडान केही नरम भए पनि लगानीकर्ताहरूले सुन, चाँदीलगायत सुरक्षित सम्पत्तिमा लगानी घटाएका छैनन्। बरु, निरन्तर अनिश्चितता र सम्भावित अस्थिरता लामो समयसम्म रहन सक्ने निष्कर्षसहित लगानीकर्ताहरूले आफ्नो स्थिति पुनःसन्तुलन गरिरहेका छन्।
बजार विश्लेषकहरूका अनुसार हालको मनोविज्ञान कायम रहेमा सुनको मूल्यमा तत्काल कुनै प्राकृतिक अवरोध देखिँदैन। यद्यपि प्रतिऔंस ५ हजार अमेरिकी डलरलाई मनोवैज्ञानिक चुनौतीपूर्ण बिन्दुका रूपमा हेरिएको छ। आजै मात्र पनि सुनको भाउ प्रति औन्स १०४३ डलरले बढेर ३२ हजार ७४७ डलर पुगेको छ। यस हिसावले भोलि थप १० हजार भन्दा माथिले बढ्ने संकेत देखिएको छ।
अब सबैको ध्यान अमेरिकी फेडतर्फ
अब बजारको ध्यान अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को आगामी मौद्रिक नीति निर्णयतर्फ केन्द्रित भएको छ। आउँदो बुधबार फेडरल ओपन मार्केट कमिटी (FOMC) को बैठकपछि आउने निर्णयले बजारको भावनामा कस्तो प्रभाव पार्छ भन्ने कुरा महत्त्वपूर्ण हुने विश्लेषकहरू बताउँछन्।
यदि फेडले कडा (हकिस) नीति संकेत गरे पनि, बजारले मौद्रिक नीतिभन्दा बढी भूराजनीतिक र आर्थिक जोखिमलाई प्राथमिकतामा राख्ने हो कि होइन भन्ने कुरा स्पष्ट हुने अपेक्षा गरिएको छ। यसैबीच, अन्तर्राष्ट्रिय र घरेलु दुवै बजारमा सुनचाँदीको मूल्य उच्च बनेकोले उपभोक्ता र व्यवसायी दुवै सतर्क बनेका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)












.jpeg)



प्रतिक्रिया