पाल्पाको हार्थोक–बतासे सडक स्तरोन्नति कार्य धमाधम अगाडि
- आयुस बस्नेत
- 2026 Apr 05 13:27
तानसेन (पाल्पा), चैत २२ — लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत रहेको पाल्पाको हार्थोक–बतासे सडकको स्तरोन्नतिको काम अन्ततः धमाधम अगाडि बढेको छ। विगत आठ वर्षदेखि बजेट अभाव र सरकारी उदासिनताका कारण अलपत्र परेको रामपुर–कपुरकोट सडकखण्डमा पाँच किलोमिटर सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले बजेट विनियोजन गरी काम सुरु गरेको छ।
स्थानीयहरूले वर्षौंदेखि बिग्रँदो सडकका कारण समस्या भोग्दै आएका थिए। वर्षात् लाग्दा हिलो, घाम लाग्दा धुलोले यात्रुलाई कठिनाइ थियो भने बिरामी र गर्भवतीलाई जोखिम थियो। अब सडक स्तरोन्नतिसँगै यात्रामा सहजता आउनेछ।

रैनादेवी छहराका स्थानीय पदम सोमका अनुसार “सडक स्तरोन्नतिपछि वर्षात्अगावै घरायसी सामानको जोहो गर्नुपर्ने अवस्था सकिनेछ।” पूर्वजनप्रतिनिधि विष्णु पोखरेलले भने, “सडक स्तरोन्नतिपछि ढुवानीका साधन नियमित रूपमा पुग्नेछन्, किसानले उत्पादन सजिलै बजार पुर्याउने र राम्रो मूल्य पाउने अवस्था आउँछ।”
निर्माणकार्यमा स्थानीयवासी, पालिका र जनप्रतिनिधिहरूसँग समन्वय गरेर काम भइरहेको नारायणबहादुर कार्कीले जानकारी दिनुभयो। हाल सडक चौडा गर्ने, रिटेनिङ पर्खाल, जग निर्माण, बाटोको लेवल मिलाउने र नाली निर्माणका कामहरू भइरहेको छन्।

लुम्बिनी प्रदेश सडक यातायात पूर्वाधार निर्देशनालय बुटवलका वरिष्ठ इन्जिनियर सूचना अधिकारी अरुण गुप्ताका अनुसार, सडक स्तरोन्नति कार्य २०८४ असोज २ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माणकार्य रु १६ करोड ३१ लाख १९ हजारमा एमएस राजेश्वरी–रमानिया–आरएन्डआर जेभीद्वारा सम्पन्न हुँदैछ।
प्रदेश सरकारले २०७४ मा रामपुरदेखि कपुरकोटसम्मको ३१० किलोमिटर सडकलाई गौरवको आयोजना घोषणा गरेको थियो। सडक निर्माण सम्पन्न भएपछि पश्चिम पाल्पा सहित अर्घाखाँची, प्यूठान, रोल्पा र सल्यानका बासिन्दालाई ठुलो लाभ पुग्ने अपेक्षा गरिएको छ, जसले जनजीवनमा परिवर्तन ल्याउने लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीमगरले बताउनुभयो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया