गोल्डेन ओकको बिक्री बढ्दा हिमालयन डिष्ट्रिलरीको नाफामा सुधार, प्रतिशेयर आम्दानी २४ रुपैयाँ नाघ्यो
- BFIS News
- 2026 Feb 01 11:23
काठमाडौं। शेयर बजारको ब्लुचिप कम्पनीका रूपमा परिचित हिमालयन डिष्ट्रिलरी लिमिटेडको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिमा मुनाफामा उल्लेखनीय सुधार देखिएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीले ४४ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको मुनाफा ४० करोड ४९ लाख रुपैयाँ रहेको थियो।
मुनाफा वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि बढेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३१ पैसा पुगेको छ, जुन गत वर्षको सोही अवधिमा २१ रुपैयाँ ९६ पैसा थियो। कम्पनीको मूल्य आम्दानी अनुपात (PE Ratio) ४६.८४, प्रति शेयर नेटवर्थ १२० रुपैयाँ ८७ पैसा र तरलता अनुपात ६.१५ रहेको छ।
सञ्चालन अवधिमा कम्पनीले ३ खर्ब २३ अर्ब रुपैयाँ बराबरको बिक्री गरेको जनाएको छ। गत वर्षको सोही अवधिमा बिक्री ३ खर्ब ३ अर्ब रुपैयाँ थियो। हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७६ करोड ९८ लाख रुपैयाँ सञ्चित रहेको विवरणमा उल्लेख छ।
व्यवस्थापनका अनुसार कम्पनीका Golden Oak, Black Oak र Silver Oak ब्राण्डका मदिरा उपभोक्तामाझ लोकप्रिय रहँदै आएका छन्। यी ब्राण्डहरूको खुद बिक्री वितरण गत वर्षको सोही अवधिको तुलनामा करिब १६ प्रतिशतले बढेको छ। समग्र बिक्री आम्दानीका आधारमा नाफामा करिब ११ प्रतिशत वृद्धि भएको कम्पनीको दाबी छ।
यद्यपि, २०८२ भाद्र २३ र २४ गते भएका आन्दोलनका कारण उत्पन्न राजनीतिक प्रभावले बजार वितरणमा केही असहज अवस्था सिर्जना गरेको कम्पनीले जनाएको छ। नयाँ उत्पादन तथा विद्यमान ब्राण्डहरू उपभोक्तासम्म सहज रूपमा पुर्याउन चुनौती रहे पनि बजार मागलाई ध्यानमा राख्दै उत्पादन र वितरण कार्य निरन्तर जारी राखिएको उल्लेख गरिएको छ।
कम्पनीले Malt Plant जडान गरी Malt Spirit उत्पादन तथा Automation Plant मार्फत ENA उत्पादन सुरु गरिसकेको छ। साथै Zero Liquid Discharge प्रणालीमार्फत By-product का रूपमा निस्कने Sludge लाई पशु, पंक्षी तथा माछाको आहारका रूपमा प्रयोग हुने Dry Cake उत्पादन गरी बिक्री सुरु गरिएको छ।
उत्पादन पोर्टफोलियो विस्तारका क्रममा कम्पनीले Golden Oak, Black Oak, Silver Oak बाहेक २५ यु.पि. शक्तिको Shlok ह्वीस्की तथा ५ प्रतिशत अल्कोहलयुक्त Passion Cooler (Cola) मदिरा मिश्रित पेय पदार्थ समेत हालै बजारमा ल्याएको जनाएको छ। यसबाट ब्राण्ड विविधता बढ्नुका साथै उपभोक्ताको चाहना पूरा हुने अपेक्षा कम्पनीको छ।
माल्ट स्प्रिट र ENA लाई उच्च हिमाली क्षेत्रमा म्याचुरेशन गर्न खुम्बु क्षेत्रमा जग्गा खरिद र गोदाम निर्माण सम्पन्न भइसकेको छ। सो प्रयोजनका लागि आवश्यक अन्तःशुल्क इजाजतपत्र समेत प्राप्त भइसकेको कम्पनीले जनाएको छ। उच्च हिमाली क्षेत्रको हावापानी, ढुवानी तथा प्राविधिक जनशक्ति व्यवस्थापनका कारण मेसिनरी जडानमा केही ढिलाइ भएको उल्लेख गर्दै आगामी त्रैमासिकभित्र म्याचुरेशनको परिमाण र प्रक्रिया यकिन गरी नियामक निकायबाट स्वीकृति लिएर कार्य सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया