NIMB Header 2
Nepal Life

भाग्य होइन, बीमामा भरोसा: आर्थिक सचेतना फैलाउँदै सानिमा रिलायन्सकी अभिकर्ता दिल माया तामाङ

National Life
  • BFIS News
  • 2026 Feb 05 12:51
भाग्य होइन, बीमामा भरोसा: आर्थिक सचेतना फैलाउँदै सानिमा रिलायन्सकी अभिकर्ता दिल माया तामाङ
Sanima Reliance

काठमाडौं । धेरै मानिसका लागि बीमा अझै पनि जटिल प्रक्रिया, महँगो प्रिमियम र सम्पन्न वर्गका लागि मात्र आवश्यक सेवा जस्तो लाग्छ। तर यही धारणा बदल्ने अभियानमा सक्रिय छिन् सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी अभिकर्ता दिल माया तामाङ। उनी बीमालाई केवल वित्तीय उत्पादनका रूपमा होइन, जीवनको सुरक्षा र जिम्मेवारीसँग जोडिएको चेतनाको विषयका रूपमा प्रस्तुत गर्छिन्।

Shikhar
NIMB

“भविष्यलाई भाग्यमा होइन, बीमाले सुरक्षित गर्नुपर्छ,” भन्ने विश्वासलाई जीवन दर्शन बनाएकी तामाङ अहिले वित्तीय साक्षरता विस्तार गर्ने अभियानमा निरन्तर सक्रिय छिन्। समाजका विभिन्न तह र समुदायमा पुगेर बीमाको वास्तविक अर्थ र आवश्यकता बुझाउनु उनको प्राथमिक लक्ष्य बनेको छ।

सीमित स्रोतबीचबाट अघि बढेको यात्रा

सिन्धुली जिल्लाको मरीन झाडीमा जन्मिएकी तामाङको बाल्यकाल आर्थिक र शैक्षिक सीमाभित्र बित्यो। त्यतिबेला शिक्षामा पहुँच सहज थिएन। विद्यालय पुग्न लामो दूरी पार गर्नुपर्ने, सीमित साधनस्रोत र पारिवारिक अवस्थाका कारण पढाइ निरन्तरता दिनु चुनौतीपूर्ण थियो। यद्यपि, परिस्थितिलाई बाधा नभई प्रेरणा बनाउँदै उनले अध्ययनलाई निरन्तरता दिइन्। हाल उनी स्नातक तहको अध्ययन पूरा गर्ने चरणमा पुगेकी छन्।

उनका अनुसार शिक्षा र चेतनाले मानिसको जीवनको दिशा बदल्न सक्छ। यही सोचले उनलाई व्यक्तिगत संघर्षबाट सामाजिक योगदानतर्फ उन्मुख गरायो।

महामारीबीच बीमा क्षेत्रमा प्रवेश

कोभिड–१९ महामारीले विश्वव्यापी अनिश्चितता ल्याइरहेको समयमा तामाङले बीमा क्षेत्रमा प्रवेश गरिन्। त्यो समय उनका लागि पेशागत मात्र होइन, सोच र दृष्टिकोण परिवर्तनको मोड पनि बन्यो। सुरुमा बीमाबारे गहिरो जानकारी नभए पनि लकडाउनका क्रममा अनलाइन माध्यमबाट आयोजित छलफल र तालिममार्फत उनले बीमाको आधारभूत अवधारणा बुझ्न थालिन्।

जूम मिटिङमार्फत बीमाका विषयमा जानकारी लिँदै जाँदा उनले पहिलोपटक बीमालाई आफ्नो जीवन र परिवारसँग जोडेर हेर्न थालिन्। “आफ्नो सानो आम्दानीबाट पनि बीमा गरेर अभिभावकलाई हकदार बनाउन सकिन्छ भन्ने थाहा पाएपछि सोच बदलियो,” उनी भन्छिन्।

उनका लागि त्यो क्षण निर्णायक बन्यो। बीमा कागजी सम्झौताभन्दा माथि उठेर पारिवारिक जिम्मेवारी र सुरक्षाको माध्यमका रूपमा स्थापित भयो।

बीमा: अनुशासन र सुरक्षाको संयन्त्र

तामाङ बीमालाई बचत, सुरक्षा र दीर्घकालीन योजना जोड्ने संयन्त्रका रूपमा व्याख्या गर्छिन्। उनका अनुसार बीमाले नियमित बचत गर्ने बानी बसाल्छ, जोखिमको अवस्थामा आर्थिक आधार दिन्छ र आवश्यक पर्दा कर्जा सुविधा समेत उपलब्ध गराउँछ।

“बीमा विलासिता होइन, करकाप पनि होइन, यो जीवनको आधार हो,” भन्ने उनको धारणा छ। आर्थिक सुरक्षाबिना आत्मनिर्भर समाज निर्माण सम्भव नहुने उनको विश्वास छ।

भ्रम चिर्दै चेतना विस्तार

अहिले तामाङ समाजका विभिन्न वर्गसम्म पुगेर बीमाबारे व्यावहारिक जानकारी दिन व्यस्त छिन्। बीमा केवल धनी वर्गका लागि हो भन्ने सोच तोड्नु नै उनको प्रमुख अभियान बनेको छ। उनी उदाहरण, अनुभव र सरल भाषामार्फत बीमाको महत्व बुझाउने प्रयास गर्छिन्।

उनको यात्राले देखाउँछ सीमित स्रोतबाट सुरु भएको प्रयासले पनि सामाजिक चेतना विस्तारमा प्रभाव पार्न सक्छ। व्यक्तिगत बुझाइबाट सुरु भएको बीमाप्रतिको विश्वास अहिले उनका लागि पेशा मात्र होइन, सामाजिक दायित्व बनेको छ।

तामाङ बीमा व्यवसायलाई केवल पेशाका रूपमा मात्र होइन, सामाजिक चेतना विस्तार गर्ने अभियानका रूपमा लिन्छिन्। उनका लागि बीमाको महत्व बुझाउनु भनेको शब्दले व्याख्या गर्नु मात्र होइन, आफैं उदाहरण बनेर देखाउनु हो। यही सोचका साथ उनले आफ्नै जीवनमा ठूलो परिमाणको बीमा गरेर अरूलाई पनि जोखिम व्यवस्थापनतर्फ प्रेरित गरिरहेकी छन्।

“अरूलाई खोलाको गहिराइ बुझाउन चाहने हो भने पहिले आफैं खोलामा पसेर अनुभव गर्नुपर्छ,” भन्ने उनको जीवन दर्शनले नै काम गर्ने शैलीलाई परिभाषित गर्छ। आफू स्वयं बिमित भएपछि मात्र ग्राहकको विश्वास जित्न सकिन्छ भन्ने मान्यताले उनलाई अझ जिम्मेवार र विश्वसनीय बनाएको छ।

उनको अभियान सहरमा मात्र सीमित छैन। गाउँका किसान, मजदुर, घरेलु महिला, साना व्यवसायी, एकल महिला, सडक किनारमा मकै बेच्ने महिला र वैदेशिक रोजगारीमा जाने युवासम्म उनी पुगिरहेकी छन्। बीमा भनेको धनीका लागि मात्र हो भन्ने धारणा तोड्नुपर्ने आवश्यकता रहेको उनी बताउँछिन्। धेरैले “बचत छैन” भन्दै बीमाबाट टाढा रहने प्रवृत्तिलाई परिवर्तन गर्नुपर्नेमा उनी जोड दिन्छिन्। सानो रकमबाट पनि बीमा सुरु गर्न सकिन्छ भन्ने सन्देश उनी निरन्तर दिइरहेकी छन्।

दिल मायाको बुझाउने शैली सरल, व्यावहारिक र जीवनसँग जोडिएको हुन्छ। मोटरसाइकल किन्दा बीमा अनिवार्य गर्ने तर जीवनजस्तो अमूल्य विषयलाई बिनाबीमा छोड्नु बुद्धिमानी नहुने तर्कमार्फत उनले धेरैको सोच परिवर्तन गर्न सफल भएको बताइन्छ। उनका लागि बीमा बेच्नु मुख्य उद्देश्य होइन, जोखिमबारे चेतना फैलाउनु प्राथमिकता हो।

उनको परामर्श बीमाको दायराभन्दा बाहिर पनि फैलिएको छ। आय–व्यय व्यवस्थापन, बचतको बानी, जोखिम मूल्यांकन र दीर्घकालीन आर्थिक योजना जस्ता विषयमा उनी खुला रूपमा मार्गदर्शन दिन्छिन्। आर्थिक आत्मनिर्भरता बिना वास्तविक स्वतन्त्रता सम्भव नहुने विश्वासका साथ उनले बीमालाई आत्मनिर्भरताको पहिलो खुड्किलोका रूपमा प्रस्तुत गर्दै आएकी छन्।

अरूलाई सिकाउनुअघि आफू उदाहरण बन्नुपर्छ भन्ने सोचअनुसार उनले करिब एक करोड रुपैयाँ बराबरको जीवन बीमा गरिसकेकी छन्। यसले उनको पेशाप्रतिको प्रतिबद्धता र विश्वासलाई झन् बलियो बनाएको छ।

बीमा क्षेत्रसँगै उनी महिला सशक्तीकरणमा पनि सक्रिय छिन्। महिलालाई लक्षित गर्दै तामाङ पहिरन उत्पादनको सानो उद्योग सञ्चालन गरिरहेकी छन्। मौलिक संस्कृतिको जगेर्नासँगै बच्चा भएका महिलालाई रोजगारी दिने उद्देश्यले सुरु गरिएको उक्त उद्योगमा हाल १०–१२ जना महिला कार्यरत छन्। यस पहलले उनको सामाजिक संवेदनशीलता र उद्यमशील सोच झल्काउँछ।

उनका अनुसार बीमा व्यवसाय इमान्दारिता र विश्वासमा आधारित हुनुपर्छ। ग्राहकको आय, पारिवारिक अवस्था र वास्तविक आवश्यकता नहेरी बीमा गराउनु अनुचित हुने उनी स्पष्ट पार्छिन्। एक पटक विश्वास टुटेपछि यो पेशामा टिक्न कठिन हुने भएकाले पारदर्शिता र जिम्मेवारी अनिवार्य रहेको उनको भनाइ छ।

केही वर्षअघि विवाह बन्धनमा बाँधिएकी दिल मायाकी १६ महिनाकी छोरी छिन्। आमा बनेपछि बीमाको महत्व उनले अझ गहिरो रूपमा महसुस गरेको बताउँछिन्। बच्चाको भविष्यलाई केवल भाग्यको भरमा छोड्ने प्रवृत्तिसँग उनी सहमत छैनन्। सम्भव जोखिमलाई योजनामार्फत व्यवस्थापन गर्न सकिने हुँदा सचेत निर्णय आवश्यक रहेको उनको धारणा छ।

छोरीलाई काखमा लिएर भविष्यतर्फ हेर्दा, आफूले व्यक्तिगत रूपमा मात्र होइन, बीमा अभियन्ताका रूपमा धेरै परिवारलाई जोखिमबाट सुरक्षित बनाउने यात्रामा रहेकोमा उनलाई गर्व लाग्छ। उनका लागि बीमा व्यवसाय मात्र होइन, सुरक्षित, सचेत र आत्मनिर्भर समाज निर्माण गर्ने दीर्घ अभियान हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया