रञ्जु दर्शनाको मातृत्व तयारीसँगै संसद् यात्रा, विश्व समाजको ध्यान केन्द्रित गर्ने शौभाग्य पाउदै काठमाडौं क्षेत्र नम्बर एक
- BFIS News
- 2026 Feb 23 22:45
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन २०८२ मा ३४२८ उम्मेद्वार प्रतिस्पर्धामा छन्। तीमध्ये ३९१ जना महिला छन्। तर गर्भावस्थाको अन्तिम चरणमा पुगेर चुनावी मैदानमा उत्रनु आफैँमा असाधारण साहस हो। यही साहसका साथ रञ्जु दर्शना काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेद्वार बनेकी छिन्।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चुनाव चिन्ह) बाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धामा छिन्। आमा बन्ने अन्तिम तयारीमा रहँदा पनि उनी शारीरिक आरामको समय त्यागेर चुनावी अभियानमा सक्रिय छन्। घरदैलोका क्रममा मतदाताले उनको साहसलाई सम्मान गर्दै साथ र सहयोगको प्रतिबद्धता व्यक्त गरिरहेका छन्।
मातृत्व र नेतृत्वको संगम
आमाको कोखसँग सीधा सम्बन्ध हृदयसँग गाँसिएको हुन्छ। बाबाको सद्भावभित्र अव्यक्त प्रेमको चस्को रहन्छ, तर आमाले सन्ततिप्रेमलाई व्यवहारमै उतार्छिन्। नौ महिना पेटमा बोक्ने, वाक्कव्याक्क, थकान, अस्वस्थता र प्रसव वेदनाका कहर—यी सबै शारीरिक र मानसिक पीडाबीच पनि सार्वजनिक जीवनमा सक्रिय रहनु सजिलो छैन।
यही सन्दर्भमा दर्शनाको उम्मेदवारी केवल राजनीतिक प्रतिस्पर्धा होइन, महिला सशक्तीकरणको जीवन्त उदाहरण बनेको छ। प्रायः महिला उम्मेदवार भएका क्षेत्रमा पुरुष उम्मेदवारले आफूलाई सुरक्षित महसुस गर्ने धारणा रहँदै आएको छ। तर दर्शनाको साहसले उनका प्रतिस्पर्धी मात्र होइन, अन्य दलका उम्मेदवारहरूलाई समेत चकित बनाएको छ।
भूगोलको कथा
काठमाडौं क्षेत्र नम्बर १ केवल नक्सामा कोरिएको सीमाना होइन। यो क्षेत्र सिंहदरबार को गम्भीरता र दशरथ रंगशाला को उत्साही धड्कन बोकेको भूगोल हो। दक्षिण र पूर्वतर्फ बागमती नदी ले सीमा कोरेको छ, तर आज त्यही नदी फोहोर र अतिक्रमणसँग संघर्षरत छ।
उत्तरका व्यस्त सडक, सिनामंगलदेखि डिल्लीबजारसम्मको चाप, साँघुरा गल्लीका अधुरा सुधार, अस्पतालहरूको चहलपहल—थापाथली अस्पताल, नर्भिक अस्पताल, सिभिल अस्पताल, अन्नपूर्ण न्यूरो अस्पताल यी सबै यस क्षेत्रका दैनिक जीवनका कथा हुन्।
यहाँ ४८,८०९ मतदाता छन्। ३,८४५ युवा मतदाता छन् जसको प्रश्न छ “अब पनि यही दोहोरिन्छ त?” १४,३९८ आमा–बुबाहरू छन् जो भविष्यको चिन्ताबाट मुक्त हुन सकेका छैनन्। ज्येष्ठ नागरिकहरू छन्, जसले लोकतन्त्र जोगाइराखेका छन् तर आज मौन छन्।
राजनीति र संवेदनशीलता
काठमाडौँ क्षेत्र नम्बर १ आन्दोलनको केन्द्र पनि हो। यहाँका गल्लीहरू आवाज र संघर्षका साक्षी छन्। तर राजनीतिक अव्यवस्थाका कारण एम्बुलेन्स रोकिने, बिरामी कुर्नुपर्ने, परिवार रोइरहने दृश्यले राजनीति कहिलेकाहीँ सबैभन्दा नाङ्गो र कुरुप देखिन्छ।
यही संवेदनशील क्षणले दर्शनालाई राजनीति केवल शक्ति प्राप्त गर्ने साधन होइन, जिम्मेवारी वहन गर्ने दायित्व हो भन्ने महसुस गराएको छ।
दर्शनले आफ्नो सम्बोधनमार्फत चुनावी वाचा भन्दा पनि जिम्मेवारी र क्षेत्रको यथार्थलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याएकी छन्। उनले आफू ठूलो भाषण वा आकर्षक प्रतिबद्धता लिएर नभई, क्षेत्रको वास्तविक अवस्था र नागरिकको अनुभूति प्रस्तुत गर्न आएको बताइन्।
सम्बोधनका क्रममा उनले जनप्रतिनिधित्वको जिम्मेवारीलाई बैंक खाता खोल्ने प्रक्रियासँग तुलना गर्दै जनताको विश्वास सम्हाल्ने व्यक्तिले आफ्नो क्षेत्रबारे गहिरो बुझाइ राख्नुपर्ने धारणा राखिन्। सीमित रकमको जिम्मेवारी लिन प्रमाण आवश्यक पर्ने अवस्थामा जनताको भविष्यको जिम्मेवारी लिने व्यक्तिको क्षमता र प्रतिबद्धता अझ बढी परीक्षण हुनुपर्ने उनको भनाइ थियो।
उनले काठमाडौँ–१ लाई केवल प्रशासनिक सीमाभन्दा पर जीवित भूगोलका रूपमा चित्रित गरिन्। यस क्षेत्रमा रहेको सिंहदरबारको प्रशासनिक गम्भीरता, दशरथ रंगशालाको उत्साह र बागमती नदीको पीडाले यहाँको विविधता र चुनौती झल्काउने बताइन्। क्षेत्रका गल्ली–चोकमा पूर्वाधार सुधारको आवश्यकता, युवाहरूको रोजगारीको आशा, अभिभावकको चिन्ता र ज्येष्ठ नागरिकको मौन त्याग मिसिएको उनले उल्लेख गरिन्।
उनका अनुसार तीन पुस्ताले फरक–फरक प्रकारका समस्या भोगिरहेका छन्, तर साझा प्रश्न राजनीतिक संवेदनशीलताको अभाव हो। रोजगारी, कर र महँगीभन्दा बाहिर निरन्तर थकान र बेवास्ताको अनुभूति नागरिकले भोगिरहेको उनको दाबी छ। राजनीति मौनताको सुविधामा सीमित रहने कि दबिएका आवाज सुन्ने साहस गर्ने भन्ने प्रश्न उनले उठाइन्।
आन्दोलन र राजनीतिक गतिविधिको केन्द्र रहेको उल्लेख गर्दै उनले स्वास्थ्य सेवाको सन्दर्भ पनि उठाइन्। अस्पतालहरू जीवनरक्षाको आधार भए पनि एम्बुलेन्स रोकिने र बिरामीले कुर्नुपर्ने अवस्था आएमा त्यसले राजनीतिक उत्तरदायित्वको कमजोरी उजागर गर्ने उनले बताइन्।
उनले आफू मातृत्वको तयारीमा रहेको जानकारी दिँदै भावी पुस्ताको सुरक्षित भविष्य निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन्। आफ्नो अभियान सत्ता प्राप्तिको नभई जिम्मेवारी वहन गर्ने यात्राको रूपमा रहेको भन्दै उनले नागरिकसँग सहकार्य र परिवर्तनको यात्रामा साथ दिन आह्वान गरिरहेकी छिन्। दर्शनालाई जिताएर काठमाडौं क्षेत्र नम्बर एक नेपालका लागि मात्रै होइन विश्व परिवेशमै गुन्जिनेछ। जसले मातृत्व सँगै राजनीतिको कठिन यात्राको सफलताको कथा निर्माण गर्नेछ। यसको साक्षी बन्ने सौभाग्य काठमाडौं क्षेत्रनम्बर एकले पाउनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)












.jpg)




प्रतिक्रिया