Nepal Life

बाँकेमा ९२ प्रतिशत किशोरीलाई एचपिभी खोप

NMB Bank
  • BFIS News
  • 2026 Feb 25 17:18
बाँकेमा ९२ प्रतिशत किशोरीलाई एचपिभी खोप
National Life

नेपालगञ्ज, फागुन १३ गते । बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइएको छ ।

Shikhar
NIMB

सतप्रतिशतलाई खोप लगाउने लक्ष्य राखिए पनि यस वर्ष ९२ प्रतिशतमा सीमित भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीका अनुसार आठ हजार ५८४ जनालाई खोप लगाउने लक्ष्य राखिएकामा ९२ प्रतिशतलाई खोप दिइएको हो ।

“केही अपवादका रूपमा छुट्नुभएको होला, तर हामीले एचपिभी खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छौँ,” उहाँले भन्नुभयो ।

जनस्वास्थ्य अधिकृत गिरीका अनुसार कोहलपुर नगरपालिकामा एक हजार ७००, खजुरा गाउँपालिकामा एक हजार, जानकी गाउँपालिकामा ६७०, नरैनापुर गाउँपालिकामा ७३१, बैजनाथ गाउँपालिकामा ८८१, राप्तीसोनारी गाउँपालिकामा ५८०, नेपालगञ्ज उपमहानगरपालिकामा एक हजार ९०९ र डुडुवा गाउँपालिकामा ४२६ जनालाई खोप लगाइएको छ ।

सबैभन्दा कम डुडुवा गाउँपालिकामा ४२६ र सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकामा एक हजार ९०९ जनालाई खोप लगाइएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा विद्यालय जाने छ हजार ५३१ र विद्यालय नजाने दुई हजार ५३ गरी कूल आठ हजार ५८४ जनालाई एचपिभी खोप लगाउने लक्ष्य थियो ।

कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय नजाने १० वर्षका किशोरी, गत वर्ष सञ्चालन गरिएको एचपिभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्मका छात्रा तथा ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित समूहमा राखिएको थियो ।

एचपिभी खोपले भाइरसका प्रजाति १६ र १८ का कारण हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउने भएकाले यो सुरक्षित र प्रभावकारी रहेको जनस्वास्थ्य अधिकृत गिरीले बताउनुभयो । उहाँका अनुसार नेपालमा औसतमा दैनिक चार जना महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरका कारण हुने गरेको तथ्याङ्क छ ।

गत माघ २५ गतेदेखि फागुन ११ गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो । गत वर्ष बाँकेमा ३३ हजार ७५९ जनालाई एचपिभी खोप लगाइएको थियो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया