लमजुङका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुग्यो
- BFIS News
- 2026 Mar 03 14:07
लमजुङ, फागुन १९ गते । प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङ जिल्लामा निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू आवश्यक सामग्रीसहित सबै मतदान केन्द्रमा पुगिसकेका छन्।
सदरमुकाम बेँसीसहरबाट मतपत्रसहितका निर्वाचन सामग्री लिएर कर्मचारीहरू कार्यक्षेत्रमा प्रस्थान गरेका हुन्। मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीले आइतबार नियुक्तिपत्र बुझेर सोमबार निर्वाचन सामग्री लिएर मतदान केन्द्रतर्फ गएको सहायक निर्वाचन अधिकृत रामबन्धु गौतमले जानकारी दिनुभयो।
जिल्ला निर्वाचन कार्यालय लमजुङले मतपत्रसहित करिब ५० प्रकारका निर्वाचन सामग्री मतदानस्थलमा पठाएको जनाएको छ। यसअन्तर्गत मतदाता नामावली, मतपत्र, स्वस्तिक छाप, मसी, मतपेटिका, लाहा, डोरी, मैनबत्ती, ग्लु स्टिक, कागज काट्ने औजार, सिल सामग्री, कपडाको थैलो, सियो–धागो, डटपेन, स्ट्याप्लर, टर्चलाइट, प्राथमिक उपचार सामग्रीलगायत रहेका छन्।
निर्वाचन कार्यालय प्रमुख यादवराज आचार्यका अनुसार मतदान अधिकृतलाई नियुक्तिपत्र, मतपत्र र पेश्की रकमसमेत उपलब्ध गराइएको छ। निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारीसहित कुल एक हजार १५२ जना परिचालन गरिएको छ।
एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लमजुङमा १३० मतदानस्थल र १९२ मतदान केन्द्र कायम गरिएको छ। साथै एउटा अस्थायी मतदान केन्द्र पनि रहेको छ। जिल्लामा ११ राजनीतिक दल र एक स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्, जसमध्ये प्रत्यक्षतर्फ एक जना महिला उम्मेदवार रहेको जनाइएको छ।
मतदाता सङ्ख्याका आधारमा जिल्लामा कुल १ लाख ३७ हजार १२४ मतदाता रहेका छन्। जसमा महिला मतदाता ६९ हजार ५२४ र पुरुष मतदाता ६७ हजार ६०० रहेका छन्, अर्थात् महिला मतदाता पुरुषभन्दा १ हजार ९२४ ले बढी छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया