रामेछाप दुर्घटनाका घाइतेलाई गृहमन्त्रीद्वारा भेट, उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता
- BFIS News
- 2026 Mar 03 14:37
काठमाडौँ, फागुन १९ गते। ओमप्रकाश अर्यालले रामेछाप जिल्लामा सोमबार भएको सवारी दुर्घटनाका घाइतेलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।
गृहमन्त्री अर्यालसहितको टोलीले छाउनी सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग भेट गरी स्वास्थ्य अवस्था बुझ्नुभएको हो। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमी हुन नदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त दुर्घटना फागुन १८ गते रामेछाप नगरपालिका–२ सिरुबारीमा भएको थियो। निर्वाचन प्रयोजनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सवार सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको र सात जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये पूजा सुनुवारको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ भने बाँकी छ जना भीमबहादुर मानन्धर, केदारकुमार रोका, दुर्गा कार्की, कृष्णप्रसाद घिमिरे, सबिना खड्का र समरबहादुर मानन्धर मेडिकल वार्डमा उपचाररत छन्। घाइतेमध्ये चार महिला र तीन पुरुष रहेको अस्पतालले जनाएको छ।
दुर्घटनामा मतदान अधिकृत डोरप्रसाद घिमिरे र पर्शुराम यादवको मृत्यु भएको थियो। मन्थलीबाट मतदान केन्द्रतर्फ जाँदै गरेको ना.७ ख ६७६८ नम्बरको गाडी करिब १०० मिटर तल खसेको थियो। उक्त गाडीमा ११ जना सवार रहेको बताइएको छ।
साथै, गृहमन्त्री अर्यालसँग मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ र प्रवक्ता आनन्द काफ्ले पनि अस्पताल पुग्नुभएको थियो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)














प्रतिक्रिया