बर्दिबासमा शङ्कास्पद वस्तु विस्फोट हुँदा दुई पैदलयात्री घाइते
- BFIS News
- 2026 Mar 03 19:01
बर्दिबास फागुन १९ गते । निर्वाचनको पूर्वसन्ध्यामा बर्दिबासमा शङ्कास्पद वस्तु विस्फोट हुँदा दुईजना पैदलयात्री घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिबास का अनुसार बर्दिबास–१ स्थित पूर्व–पश्चिम लोकमार्गअन्तर्गत रातु पुलको दाहिनेतर्फ रातो रङको बट्टामा दुईवटा शङ्कास्पद वस्तु भेटिएका थिए । बर्दिबासबाट पूर्वतर्फ जाँदै गरेका तीन जनामध्ये एक जनाको खुट्टा शङ्कास्पद वस्तुमा लाग्दा विस्फोट भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास बमले जानकारी दिनुभयो ।
विस्फोटको छर्रा लागेर कैलालीको घोडाघोडी–१० घर भई हाल बर्दिबासस्थित वर्कसपमा काम गर्ने १७ वर्षीय सन्देश चौधरी र २४ वर्षीय २४ वर्षीय समीर चौधरी घाइते भएका छन् । उनीहरूको बायाँ खुट्टा र ढाडमा सामान्य चोट लागेको र अवस्था खतरामुक्त रहेको जनाइएको छ ।
घटनाको जानकारी पाएलगत्तै डीएसपी बमको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा करिब २०० ग्राम तौलको अर्को शङ्कास्पद वस्तु फेला परेपछि Nepal Army को बम डिस्पोजल टोलीसँग समन्वय गरी निष्क्रिय पारिएको प्रहरीले जनाएको छ ।
बम कसले र किन राखेको हो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) हेरम्ब शर्माका अनुसार घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)














प्रतिक्रिया