निर्वाचनलाई लक्षित गरी आज राति १२ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक
- BFIS News
- 2026 Mar 04 17:11
काठमाडौँ फागुन २० गते । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । निर्वाचनको सुरक्षा व्यवस्थालाई कडा बनाउँदै मतदान सम्पन्न नहुन्जेलसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो । अत्यावश्यक सेवा र निर्वाचन आयोग, नेपाल बाट पास प्राप्त सवारी साधन भने सञ्चालन गर्न पाइनेछ ।
निर्वाचन आयोगले आवश्यक सुरक्षा व्यवस्थाका लागि सवारी साधन नियन्त्रण गर्न सरकारलाई सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म सवारी सञ्चालनमा रोक रहने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।
मतदान कार्य सम्पन्न नहुन्जेलसम्म अतिआवश्यक सेवाबाहेकका सवारी साधन चलाउन पाइने छैन । आयोगले तीन प्रकारका सवारी साधनलाई सञ्चालन अनुमति दिएको छ ।
अतिआवश्यक सेवाका सवारी साधनमा एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारी, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारी पर्दछन् । कूटनीतिक नियोगका निलो प्लेट भएका सवारी र जिल्ला प्रशासन कार्यालय वा निर्वाचन आयोगबाट स्वीकृत पास भएका सवारी पनि सञ्चालन गर्न पाइनेछ ।
सूचना अधिकारी घिमिरेले मतदाता तथा यात्रुलाई सवारी बन्द हुनुअघि नै गन्तव्यमा पुग्न तयारी गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “आज राति १२ बजेदेखि भोलि मतदान सम्पन्न नहुन्जेलसम्म सवारी आवागमन निषेध हुनेछ । अतिआवश्यक सेवाबाहेक अन्य सवारी चलाउन पाइने छैन । सबै मतदाता र यात्रुले आज राति १२ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्नेछ ।”
आयोगले निर्वाचन अवधिमा सवारी प्रयोग गर्दा समस्या आए नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरेको छ । आवश्यक परे सुरक्षा निकायले आयोगसँग समन्वय गरी सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)
















प्रतिक्रिया