NIMB Header 2
Nepal Life

शान्ति र विकासको कामनासहित सुर्खेतमा मतदान

IME LIFE
  • BFIS News
  • 2026 Mar 05 11:43
शान्ति र विकासको कामनासहित सुर्खेतमा मतदान
United Ajod

सुर्खेत, फागुन २१ गते । देशमा शान्ति कायम होस् र छिटो विकास होस् भन्ने कामनासहित सुर्खेतका मतदाताले मतदानमा सहभागिता जनाएका छन्। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा सहभागी ज्येष्ठ नागरिकहरूले मुलुकमा शान्ति र विकासको अपेक्षा व्यक्त गरेका हुन्।

 

Nepal Life
NIMB

वीरेन्द्रनगर नगरपालिका–४ स्थित भैरव मावि मतदान केन्द्रमा मतदान गर्नुभएकी १०० वर्षीय देउकली पौडेल जैसीले देशमा शान्ति कायम रहोस् र विकास तीव्र होस् भन्ने कामनासहित मतदान गरेको बताउनुभयो। पञ्चायतकालदेखि गणतन्त्रकालसम्मका सबै निर्वाचनमा सहभागी हुँदै आएको अनुभव सुनाउँदै उहाँले कामका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य होस् र देशको विकास छिटो होस् भन्ने अपेक्षा व्यक्त गर्नुभयो।

त्यसैगरी मतदान सुरु हुनासाथ ९१ वर्षीय रत्नप्रसाद कोइराला र ९० वर्षीय रामेश्वरप्रसाद उपाध्यायले पनि मतदान गर्नुभएको थियो। उहाँहरूले आन्दोलनका नाममा नेपालीका सन्तानले ज्यान गुमाउन नपरोस् भन्ने कामना व्यक्त गर्नुभयो।

सुर्खेत क्षेत्र नं. २ का अधिकांश उम्मेदवारले पनि आफ्ना-आफ्ना वडा मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ। नेपाली कांग्रेसका उम्मेदवार नारायण कोइरालाले वीरेन्द्रनगर नगरपालिका–९ स्थित शिव मावि मतदान केन्द्रबाट मतदान गर्नुभयो। नेकपा (एमाले) का उम्मेदवार कुलमणि देवकोटाले वीरेन्द्रनगर–११ स्थित चन्द्रगंगा मावि मतदान केन्द्रबाट मतदान गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश सापकोटाले वीरेन्द्रनगर–७ स्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार झकबहादुर मल्लले पनि वीरेन्द्रनगरस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।

पूर्वमन्त्री हृदयराम थानीले वीरेन्द्रनगर–१ स्थित सरस्वती प्रावि मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ।

यसैबीच कर्णाली प्रदेशमा बिहान ७ बजेदेखि मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार बिहान १० बजेसम्म करिब ३ प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले मतदान शान्तिपूर्ण रूपमा जारी रहेको र हालसम्म करिब ३ प्रतिशत मत खसेको जानकारी दिनुभयो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया