मकवानपुरमा करिब ४० प्रतिशत मतदान
- BFIS News
- 2026 Mar 05 15:38
मकवानपुर जिल्ला, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ।
बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो २ बजेसम्म करिब एक लाख २६ हजारभन्दा बढी मतदाताले मतदान गरिसकेका छन्। बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार जिल्लामा समग्रमा करिब ४० प्रतिशत मतदान भएको छ।
निर्वाचनका लागि मकवानपुरभर १६७ मतदानस्थल र ३७४ मतदान केन्द्र तोकिएका छन्। जिल्लामा कुल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन्। जसमध्ये मकवानपुर–१ मा एक लाख ५८ हजार ४३४ र मकवानपुर–२ मा एक लाख ५६ हजार ८९९ मतदाता छन्।
जिल्लामा भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दुई वटा अस्थायी मतदान केन्द्र पनि स्थापना गरिएको छ। सुरक्षा संवेदनशीलताका आधारमा १९ मतदानस्थललाई अति संवेदनशील, ६० लाई संवेदनशील र ८८ लाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ।
निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भइरहेको र निर्वाचन कार्यमा दुई हजार २४४ कर्मचारी परिचालन गरिएको ढकालले जानकारी दिनुभयो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)
















प्रतिक्रिया