सल्यानमा मतगणना आज बिहान ११ बजेदेखि सुरु हुने
- BFIS News
- 2026 Mar 06 10:15
सल्यान, फागुन २२ गते । सल्यानमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना आज बिहान ११ बजेदेखि सुरु गर्ने सहमति भएको छ। मतगणनाअघि बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो।
जिल्ला समन्वय समिति सल्यानको सभाहलमा बसेको बैठकमा राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार तथा सम्बन्धित सरोकारवालाहरू सहभागी थिए। बैठकमा मतगणना प्रक्रिया, पालना गर्नुपर्ने आचारसंहिता तथा व्यवस्थापन सम्बन्धी विषयमा सहमति जुटाइएको छ।
मुख्य निर्वाचन अधिकृत प्रह्लादकुमार योगीका अनुसार बैठक सम्पन्न भएसँगै मतगणनाको अन्तिम तयारी सुरु गरिएको छ। सहमतिअनुसार बिहान ११ बजेदेखि मतगणना कार्य सुरु गरिने उहाँले जानकारी दिनुभयो।
यसअघि जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम खलंगा ल्याइसकिएको छ। भौगोलिक विकटता तथा लामो दूरीका कारण केही स्थानबाट मतपेटिका भने बिहान २ः३० बजे मात्र सदरमुकाम आइपुगेका थिए।
मतगणनाका लागि जिल्ला समन्वय समितिको ठूलो हलमा तयारी गरिएको छ। सिसी क्यामेरा जडान, तारजालीको घेरबार तथा कडा सुरक्षा व्यवस्थासहित मतगणनास्थल तयार पारिएको छ भने आवश्यक जनशक्ति पनि तयारी अवस्थामा राखिएको जनाइएको छ।
जिल्लाका ११७ मतदानस्थलका २०५ मतदान केन्द्रबाट करिब ५१ प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। ती केन्द्रबाट ८२ हजार २०१ जनाले मताधिकार प्रयोग गरेको विवरण छ। यद्यपि वास्तविक विवरण रुजु गर्ने काम जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा १ लाख ६२ हजार ४४९ स्थायी मतदाता रहेका थिए।
सल्यानमा प्रतिनिधिसभा सदस्य पदका लागि १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। राजनीतिक दलका १२ जना र दुई जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया