स्नो रिभर्स लिमिटेडले चैत ९ देखि आईपीओ निष्काशन गर्ने, १८ लाख ७५ हजार कित्ता शेयर जारी गर्दै
- BFIS News
- 2026 Mar 12 11:00
काठमाडौं । स्नो रिभर्स लिमिटेड ले आगामी चैत ९ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ लाख ३७ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरिने शेयरमध्ये अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका–८ का स्थानीय बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता शेयर छुट्याइएको छ। त्यस्तै, ताप्लेजुङकै सिरिजङ्गा गाउँपालिकाका वडा नं. १ देखि ७, सिदिङ्वा गाउँपालिका वडा नं. ५ र ६, पाथिभरा याङवारक गाउँपालिका वडा नं. ५ र ६ तथा पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं. १ का स्थानीय बासिन्दालाई पनि ४ लाख ६८ हजार ७५० कित्ता शेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ।
यसका साथै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ९३ लाख ७५ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९३ हजार ७५० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। विदेशमा कार्यरत नेपालीहरूले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन छिटोमा चैत २३ गते बन्द हुनेछ भने आवश्यक परेमा ढिलोमा २०८३ साल वैशाख ८ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने निष्काशन छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।
आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपाल ले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
कम्पनीले सञ्चालन गरिरहेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजना को कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २० करोड १४ लाख १४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै ३१ वर्ष २ महिना बाँकी रहेको छ। आयोजनामा लगानी गरिएको साधारण पूँजी फिर्ता हुने अवधि ८.१७ वर्ष रहेको छ भने डिस्काउन्टेड आधारमा लगानी फिर्ता हुने अवधि १५.७७ वर्ष रहेको कम्पनीले जनाएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना स्थल याम्फुदिन, नेपाल बैंक लिमिटेड को सिरिजङ्गा शाखा, एनएमबि बैंक, सानिमा बैंक तथा ग्लोबल आइएमई बैंक को फुङलिङ शाखाबाट आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाले शेयर खरिद दरखास्त फाराम लिनका लागि २ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)














प्रतिक्रिया