Nepal Life

सात महिनामा शेयर धितो कर्जा साढे १ खर्ब माथि पुग्यो

NMB Bank
  • BFIS News
  • 2026 Mar 12 21:09
सात महिनामा शेयर धितो कर्जा साढे १ खर्ब माथि पुग्यो
National Life

काठमाडौँ । सेयर लगानीकर्ताले सेयर धितो कर्जा बढाएका छन् । सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर बजारमा प्रवाह हुने शेयर धितो कर्जा मा ११ प्रतिशतको वृद्धि भएको हो ।

Shikhar
NIMB

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२-८३ को सात महिनाको वित्तीय विवरण अनुसार बैंकहरुको सेयर कर्जा २०८२ साउनदेखि २०८२ फागुनसम्ममा १५ अर्ब ४५ करोड २६ लाख रुपैयाँले बढेर कुल १ खर्ब ५६ अर्ब १५ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

यो तथ्याङ्कले पूँजीबजारमा लगानीकर्ताको बढ्दो सक्रियता र वित्तीय संस्थाहरूको सक्रियता बढेको पुष्टि गर्छ। गत आर्थिक वर्ष २०८१-८२ को सोही अवधिमा मार्जिन कर्जामा २७.८ प्रतिशतको उच्च वृद्धि भई कुल २५ अर्ब १ करोड ७१ लाख रुपैयाँ थपिएको थियो ।

मार्जिन नेचर लोनलाई चार मुख्य श्रेणीमा विभाजन गरिएको छ । जसमध्ये १ करोड रुपैयाँभन्दा बढीका कर्जाको हिस्सा सबैभन्दा ठुलो छ । चालु आर्थिक वर्षको सात महिनामा १ करोड रुपैयाँभन्दा बढीका कर्जामा १० अर्ब ७५ करोड २७ लाख रुपैयाँको वृद्धि देखिएको छ। यसले ठुला लगानीकर्ताहरू र संस्थागत खेलाडीहरूले शेयर बजारमा बढी ऋण लिएर लगानी गरिरहेको स्पष्ट सङ्केत गर्दछ।

यस अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मका कर्जामा १५.५ प्रतिशतको वृद्धि भई कुल १८ अर्ब ५१ करोड २५ लाख रुपैयाँ पुगेको छ । ५० लाखदेखि १ करोड रुपैयाँसम्मका कर्जामा २ अर्ब ४८ करोड २७ लाख रुपैयाँको वृद्धि भएको हो ।

यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मका कर्जा ९.५ प्रतिशतले बढेर १९ अर्ब २३ करोड ४४ लाख रुपैयाँ पुगेको छ। यसमा १ अर्ब ६६ करोड ८३ लाख रुपैयाँको वृद्धि देखिएको छ। साना लगानीकर्ताहरूले लिने २५ लाख रुपैयाँभन्दा कमका कर्जा ६।७ प्रतिशतले बढेर ८ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ पुगेको छ। २५ लाखदेखि ५० लाख रुपैयाँसम्मका कर्जा ५४ करोड ८९ लाख रुपैयाँको वृद्धि भएको छ ।

निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढ्यो

माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेर ५७ खर्ब १९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। माघसम्म कुल निक्षेप ६ प्रतिशत अर्थात् ४ खर्ब ३३ अर्ब ७१ करोड रुपैयाँले बढेर ७६ खर्ब ९७ अर्ब ५९ करोड पुगेको छ।

वार्षिक विन्दुगत आधारमा भने माघ मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.८ प्रतिशतले बढेको छ। क्षेत्रगत रूपमा उपभोग्य क्षेत्रमा कर्जा १०.६ प्रतिशतले बढेको छ। निर्माण क्षेत्रमा ८.७ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ६.८ प्रतिशत वृद्धि भएको छ। औद्योगिक उत्पादन क्षेत्रमा ४.८ प्रतिशत र सेवा उद्योग क्षेत्रमा १.१ प्रतिशतले वृद्धि भएको छ।

तर उत्पादनसँग प्रत्यक्ष सम्बन्धित कृषि क्षेत्रमा कर्जा १.४ प्रतिशतले घट्नु चिन्ताजनक संकेत हो। वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा पनि १.९ प्रतिशतले कर्जा घटेको छ। यसले उत्पादनमुखी लगानी अझै कमजोर रहेको देखाउँछ।

कुल कर्जामध्ये ६३.८ प्रतिशत कर्जा घरजग्गा धितोमा लगानी गरेको छ भने बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कुल कर्जामध्ये १५ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणमा रहेको छ । अघिल्लो वर्ष यस्तो हिस्सा क्रमशः ६५.१ प्रतिशत र १४.४ प्रतिशत थियो।

कर्जाको प्रकृतिअनुसार ट्रष्ट रिसिट (आयात) कर्जा १६.२ प्रतिशतले बढेको छ। मार्जिन कर्जा ११ प्रतिशत, हायर पर्चेज कर्जा ९.३ प्रतिशत, आवधिक कर्जा ३।१ प्रतिशत, रियल इस्टेट कर्जा २।५ प्रतिशत, क्यास क्रेडिट कर्जा २.१ प्रतिशत र माग तथा अन्य चालु पुँजी कर्जा १.८ प्रतिशतले बढेको छ। अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा भने ३.४ प्रतिशतले घटेको छ।

माघ मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६२।६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.४ प्रतिशत हिस्सा रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो हिस्सा क्रमशः ६३.८ प्रतिशत र ३६.२ प्रतिशत थियो।

समीक्षा अवधिमा कर्जा प्रवाह वाणिज्य बैंकबाट ४.२ प्रतिशत, विकास बैंकबाट ३ प्रतिशत र वित्त कम्पनीबाट १.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

यसैबीच माघ मसान्तसम्म कुल निक्षेप ६ प्रतिशत (४ खर्ब ३३ अर्ब ७१ करोड रुपैयाँ) ले बढेर ७६ खर्ब ९७ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा निक्षेप ३।८ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा भने माघ मसान्तसम्म निक्षेप १४.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

कुल निक्षेप संरचनामा चल्ती निक्षेप ६.५ प्रतिशत, बचत निक्षेप ४२.८ प्रतिशत र मुद्दती निक्षेप ४१.६ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो हिस्सा क्रमशः ५.२ प्रतिशत, ३४.८ प्रतिशत र ५२.४ प्रतिशत थियो। माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमध्ये संस्थागत निक्षेपको हिस्सा ३४.३ प्रतिशत रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया