Nepal Life

काठमाडौं उपत्यकामा चार सहित देशभर ५२ स्थानमा सहुलियत पसल सञ्चालन, ५० रुपैयाँसम्म छुट

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Sun 18:19
काठमाडौं उपत्यकामा चार सहित देशभर ५२ स्थानमा सहुलियत पसल सञ्चालन, ५० रुपैयाँसम्म छुट
Sanima Reliance

काठमाडौं । सरकारले दशै तिहारलाई लक्षित गर्दै काठमाडौं उपत्यका भित्र चार सहित उपत्यका बाहिर ४२ जिल्लाको ४८ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । सरकारले चाडपर्वमा उपभोक्तालाई राहत दिन सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान (डिडिसी) र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सहुलियत पसल सञ्चालनमा ल्याएको हो ।  

NIMB

सहुलियत पसलमा दैनिक उपभोग्य खाद्यान्न छुटको व्यवस्था गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार दसैँ तिहार, छठ पर्वमा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको हो । चाडपर्वमा अत्यावश्यक खाद्य वस्तुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सहज र सर्वसुलभ रूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ सहुलियत पसल सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । सहुलियत पसलमा राखिने सामानमा उपभोक्तालाई दुई रुपैयाँदेखि ५० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ । 

मन्त्रालयका अनुसार खाद्य कम्पनीबाट वितरण हुने सबै किसिमका चामल, दाल, गहुँ, आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर, भटमासको तेल, चिउरा प्रतिकेजी/प्रतिलिटरमा सात रुपैयाँ छुट दिइएको छ । 

यस्तै कर्णालीको सिमी/गेडागुडी, फापरको दाना, चिनो, कागुनो र उवामा प्रतिकेजी १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ । यस्तै जिउँदो खसी प्रतिकेजी १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ । यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनबाट वितरण हुने नुन प्रतिकेजीमा दुई रुपैयाँ, तेल र चिउरा प्रतिकेजी सात रुपैयाँ छुटको व्यवस्था गरिएको छ । डिडिसीले वितरण गर्ने घिउ प्रतिकेजीमा २० रुपैयाँ पनिर दुई सय ग्राममा २० रुपैयाँ र पनिर पाँच सय ग्राममा ५० रुपैयाँ छुटको व्यवस्था गरिएको छ । कर्पोरेसनले बजार मूल्यभन्दा सस्तो ९७ रुपैयाँ प्रतिकेजीमा चिनी बिक्री गरेकाले छुट नदिएको मन्त्रालयले जनाएको छ ।

कहाँ कहाँ राखिएको छ सहुलियत पसल 

खाद्य कम्पनीको सहुलियत पसल काठमाडौँको थापाथली, रामशाहपथ, ललितपुरको नक्खु, भक्तपुरको सूर्यविनायक गरेर चार स्थानमा रहने छन् । 

उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा खाद्य व्यवस्था कम्पनीले सहुलियत पसल सञ्चालनमा आएका छन् । 

त्यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल रहनेछन् । 

यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँका उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन वटा घुम्ती पसलमार्फत सहुलियत पसल सञ्चालन गरिने छ । डिडिसीले एकीकृत पसललगायत लैनचौर, न्युरोड र खुमलटारबाट दुग्धजन्य पदार्थ बिक्री गर्ने भएको छ । यस्तै उपत्यकाबाहिर ११ स्थानबाट सुपथ मूल्यमा वितरण गरिने डिडिसीले जनाएको छ । चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत दिन प्रत्येक वर्ष सुपथ मूल्यका पसल सञ्चालन हुने गर्छ । 

सुपथ पसल सञ्चालन गरी उपभोक्तालाई छुटमा सामान वितरण गर्न मन्त्रालयले खाद्य व्यवथा तथा व्यापार कम्पनी लिमिटेडलाई दुई करोड ३२ लाख २० हजार र साल्ट ट्रेडिङ कर्पोरेसनलाई एक करोड रुपैयाँ बजेट व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । सहुलियत पसल आगामी मङ्सिर ३ सम्म सञ्चालन गरिनेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया