मध्यपूर्वको तनावका कारण पोखरामा पर्यटक आगमन घट्दो
- BFIS News
- 2026 Mar 24 12:00
काठमाडौं। मध्यपूर्व क्षेत्रमा बढ्दो भू–राजनीतिक तनावका कारण अन्तरराष्ट्रिय उडान प्रभावित हुँदा पोखरामा पर्यटक आगमन उल्लेखनीय रूपमा घटेको छ।
विशेषगरी मुख्य पर्यटकीय सिजनमै विदेशी पर्यटकको संख्या अपेक्षाभन्दा कम देखिएको सरोकारवालाहरूले बताएका छन्।
अमेरिका, इजरायल र इरानबीचको तनाव बढ्दै जाँदा युरोप र अमेरिकाबाट आउने पर्यटकहरूको आवागमन प्रभावित भएको बताइएको छ। ती क्षेत्रबाट नेपाल आउने अधिकांश पर्यटकले दुबई, कतार र साउदी अरेबिया जस्ता मध्यपूर्वी मुलुकलाई ट्रान्जिटका रूपमा प्रयोग गर्ने भएकाले उडान अवरोधले यात्रा प्रभावित भएको हो।
पर्यटन व्यवसायीहरूका अनुसार पोखराका होटल, ट्राभल तथा ट्रेकिङसँग सम्बन्धित अग्रिम बुकिङहरू धमाधम रद्द भइरहेका छन्। यसले व्यवसायमा प्रत्यक्ष असर परेको उनीहरूको भनाइ छ।
अन्नपूर्ण क्षेत्र पदयात्राका लागि मार्चदेखि मेसम्मको अवधि दोस्रो प्रमुख सिजन मानिन्छ। तर यसपटक सो समयमा अपेक्षित संख्यामा विदेशी पर्यटक नआएको व्यवसायीहरूको गुनासो छ। अमेरिकाले आफ्ना नागरिकलाई आवश्यक बाहेक विदेश यात्रा नगर्न दिएको परामर्शले पनि पर्यटक आगमनमा असर पारेको उल्लेख गरिएको छ।
यद्यपि भारतीय तथा आन्तरिक पर्यटकको आवागमन भने अघिल्ला वर्षझैं कायम रहेको जनाइएको छ।
कोभिड–१९ महामारीपछि क्रमशः सुधार हुँदै गएको पर्यटन क्षेत्रलाई पछिल्लो अन्तरराष्ट्रिय तनावले पुनः प्रभावित पार्ने संकेत देखिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)














प्रतिक्रिया