Nepal Life

राजनीतिक हलचलले शेयर बजार प्रभावित, डराउनुपर्ने अवस्था छैन: विश्लेषक, धैर्यताका साथ लगानी गर्न सुझाव

NMB Bank
  • अरुण सापकोटा
  • 2026 Mar 29 19:35
राजनीतिक हलचलले शेयर बजार प्रभावित, डराउनुपर्ने अवस्था छैन: विश्लेषक, धैर्यताका साथ लगानी गर्न सुझाव
National Life

काठमाडौं । सरकारका पछिल्ला कदमहरू र विकसित राजनीतिक घटनाक्रमका कारण आइतबार नेपाली शेयर बजारमा गिरावट देखिएको छ। यद्यपि, विज्ञहरूले यसलाई अल्पकालीन प्रभावका रूपमा व्याख्या गर्दै दीर्घकालमा बजार सकारात्मक दिशातर्फ अघि बढ्ने विश्लेषण गरेका छन्।

Shikhar
NIMB

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार सरकारले चालेको पहिलो कदमले तत्काल बजारमा केही नकारात्मक असर पारे पनि यसको दीर्घकालीन प्रभाव सकारात्मक हुने देखिन्छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेसँगै प्रतिपक्षी दलहरू आन्दोलनमा उत्रिएका छन्, जसले लगानीकर्तामा त्रास सिर्जना गरेको उनले बताए।

ढकालका अनुसार आजको बजार गिरावटको मुख्य कारण राजनीतिक घटना मात्र नभई लगानीकर्ताहरूको “प्रोफिट बुकिङ” पनि हो। “बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेकाले डराउनुपर्ने अवस्था छैन,” उनले भने, “यस्तो समयमा आत्तिएर होइन, धैर्यताका साथ लगानी गर्नुपर्छ।”

सरकारले २०४८ सालदेखि यताका सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने निर्णयले केही लगानीकर्तामा अन्योल उत्पन्न गरेको भए पनि ढकालले यसबाट डराउनु पर्ने अवस्था नरहेको स्पष्ट पारे। उनका अनुसार शेयर बजारमा ‘ह्वाइट मनी’ को प्रयोग हुने भएकाले यस्तो छानबिनले दीर्घकालमा बजारलाई थप पारदर्शी र मजबुत बनाउनेछ।

यता, शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुल्लेलले भने राजनीतिक अस्थिरता र आन्दोलनको त्रासले बजारमा नकारात्मक मनोविज्ञान सिर्जना भएको बताए। “लगानीकर्ताहरू आन्दोलन चर्किने डरले केही त्रसित देखिएका छन्, जसले सेलिङ प्रेसर बढाएको छ,” उनले भने।

उनका अनुसार सरकारले एकातिर सकारात्मक नीतिगत निर्णयहरू लिँदै गर्दा अर्कोतर्फ धरपकडजस्ता गतिविधिले लगानीकर्तामा द्विविधा उत्पन्न गरेको छ। यद्यपि, नयाँ सरकारले ल्याउने नीतिहरूबाट क्रमशः सकारात्मक सन्देश आउने र बजार स्थिर हुने अपेक्षा गरिएको छ।

फुल्लेलले भ्रष्टाचारविरुद्धको कारबाहीलाई सकारात्मक कदमका रूपमा उल्लेख गर्दै भने, “सम्पत्ति शुद्धीकरण र पारदर्शिताले दीर्घकालमा पूँजी बजारलाई मजबुत बनाउँछ।” तर, सरकारका केही निर्णयहरूमा देखिएको असन्तुलनले लगानीकर्तामा असहजता पैदा गरेको उनको भनाइ छ।

विश्लेषकहरूका अनुसार बजार घट्नुमा प्रोफिट बुकिङ, लगानीकर्ताको मनोवैज्ञानिक त्रास, तथा केही प्राविधिक कारणहरू पनि जिम्मेवार छन्। प्रधानमन्त्री नियुक्तिपछि बजार बढ्ने अपेक्षामा बसेका कतिपय लगानीकर्ताहरू घाटामा शेयर बेच्न बाध्य भएको पनि बताइएको छ।

आगामी दिनमा अर्थतन्त्र सुधारतर्फ उन्मुख हुने अपेक्षासहित नयाँ नेतृत्वप्रति आशा व्यक्त गरिएको छ। विशेषगरी स्वर्णिम वाग्ले अर्थमन्त्रीका रूपमा आउने सम्भावनाले आर्थिक क्षेत्रमा सकारात्मक संकेत दिने विश्वास व्यक्त गरिएको छ।

आत्तिनु पर्ने कि अवसरको संकेत? 

पछिल्लो समय शेयर बजारमा देखिएको उतारचढावका बीच लगानीकर्ताहरूमा अन्योल र मनोवैज्ञानिक दबाब बढिरहेको छ। नेप्से सूचक तीन हजार अंकको हाराहारीमा पुग्दा धेरै लगानीकर्ता अनावश्यक रूपमा आत्तिएको विश्लेषण गरिएको छ।

नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार बजार घट्नुपर्ने ठोस सैद्धान्तिक कारण नहुँदा पनि लगानीकर्ताहरू डराएको देखिन्छ। “कतिपय लगानीकर्ताले प्लेज फ्री गरेर समेत बसेको अवस्था थियो,” उनले भने। उनका अनुसार वर्तमान सरकार बलियो देखिएको, सुशासनमा जोड दिएको र सार्वजनिक हितमा काम गर्ने विश्वासले बजारमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने संकेत गर्छ।

पाण्डेले सरकारद्वारा अघि सारिएको ९० दिनभित्र १०० कार्ययोजना, ऊर्जा तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति, र आगामी आर्थिक वर्षको बजेट तयारीलाई सकारात्मक संकेतका रूपमा व्याख्या गरे। “बजारमा ५०–१०० अंकको उतारचढाव सामान्य हो, यो करेक्सनको प्रक्रिया हो, आत्तिनु पर्ने अवस्था छैन,” उनले स्पष्ट पारे।

तर बजार विश्लेषक रविन कँडेलको दृष्टिकोण भने केही फरक छ। उनका अनुसार हालको बजार वृद्धिमा आर्थिक सुधारभन्दा राजनीतिक कारण बढी हाबी छन्। “बजार आर्थिक सूचकहरू सुधार भएर बढेको होइन, राजनीतिक सकारात्मक माहोलका कारण बढेको हो,” कँडेलले बताए।

उनले विगतको अनुभव स्मरण गराउँदै यस्तो वृद्धि दीर्घकालीन रूपमा दिगो नहुने चेतावनी दिए। “पोजिटिभ भाइब र बलियो सरकारको आशामा बजार बढाइएको हो, तर यस्तो ट्रेन्ड सस्टेनेबल हुँदैन,” उनले भने।

कँडेलका अनुसार व्यवसायिक वातावरण अझै पूर्ण रूपमा सुधारिएको छैन। जलविद्युत् क्षेत्रमा अपेक्षित लाभांश वास्तविक रूपमा महसुस हुन बाँकी छ भने बैंकिङ तथा वित्तीय क्षेत्रमा पनि ठोस नवीनता देखिएको छैन। “यस्तो अवस्थामा बजारको वृद्धि पूर्ण रूपमा र्‍यासनल भन्न सकिँदैन, तर शेयर बजारको स्वभाव नै यस्तै हुन्छ,” उनले थपे।

उनले सरकारका नीतिहरूको कार्यान्वयन, बजारमा पैसाको प्रवाह र लगानीकर्ताको मनोविज्ञानले दीर्घकालीन दिशा निर्धारण गर्ने बताए। साथै, भ्रष्टाचारविरुद्धका कदमहरू राजनीतिकरण भएमा त्यसले पनि बजारमा असर पार्न सक्ने उनको भनाइ छ।

विश्लेषक कँडेलले लगानीकर्तालाई हल्ला र छोटो अवधिको सूचनाको भरमा निर्णय नगर्न आग्रह गरे। “सानो समाचारमा आत्तिएर बजारबाट बाहिरिने वा सामान्य सकारात्मक संकेतमा हतारिएर लगानी गर्ने प्रवृत्ति हानिकारक हुन्छ,” उनले चेतावनी दिए।

विज्ञहरूका अनुसार शेयर बजारको वर्तमान अवस्था संवेदनशील भए पनि आधारभूत पक्षहरू मजबुत रहेकोले दीर्घकालमा बजार उकालो लाग्नेमा विश्वस्त देखिन्छन्। उनीहरू राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर विकास र समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिन्छन्। समग्रमा हेर्दा नेपाली शेयर बजार अहिले संक्रमणकालीन अवस्थामा रहेको देखिन्छ। एकातिर नीतिगत सुधार र राजनीतिक स्थिरताले दीर्घकालीन आशा जगाएको छ भने अर्कोतर्फ आर्थिक आधार अझै मजबुत भइनसक्दा अल्पकालीन अस्थिरता देखिएको छ। विज्ञहरूका अनुसार यस्तो अवस्थामा संयमित, तथ्यमा आधारित र दीर्घकालीन सोचसहित लगानी निर्णय लिनु नै सबैभन्दा उपयुक्त रणनीति हुनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार