कालंगा हाइड्रोको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता
- BFIS News
- 2026 Mar 24 12:03
काठमाडौं। कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै शेयर बिक्री सुरु गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ करोड रुपैयाँ मूल्यका ४९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये १४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
उक्त स्थानीय कोटामा पनि अति प्रभावित क्षेत्रका बासिन्दाका लागि ९ लाख १० हजार कित्ता तथा अन्य प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख ९० हजार कित्ता शेयर बाँडफाँट गरिने व्यवस्था गरिएको छ।
यसका साथै सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि आवेदन दिने अवधि छिटोमा चैत २४ गतेसम्म रहनेछ भने आवश्यक परे बैशाख ९ गतेसम्म लम्बिन सक्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गतेसम्म आवेदन खुला रहनेछ।
कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम संकेत गर्दछ।
कम्पनीले १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत करिब ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। उक्त आयोजनाबाट २०७९ माघ २७ गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु भएको जनाइएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले लिएको छ। आवेदन प्रक्रिया सी–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाहरूका साथै ‘मेरो शेयर’ अनलाइन प्लेटफर्म प्रयोग गरेर पनि गर्न सकिने व्यवस्था गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)














प्रतिक्रिया